भारतको चर्चित होटल लेमन ट्रिले तनहुँको बन्दीपुरमा रहेको होटल क्विन टावरमा होटल सञ्चालनको सम्झौता गरेको छ।
लेमन ट्रि होटल्स लिमिटेडअन्तर्गतको कार्नेसन होटल्स प्रालिले सोमबार बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडसँग होटल सञ्चालनको सम्झौता गरेको हो।
भारतको नयाँ दिल्लीमा यससम्बन्धी सम्झौता भएको बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेडले जनाएको छ। कम्पनीले लाइसेन्स सम्झौता गरेसँगै ८० कोठाको होटल चाँडै सञ्चालनमा आउनेछ।
डाइनिङ, रिक्रिएसन र इभेन्टलगायतका सुविधाहरु होटलमा उपलब्ध हुनेछन्। १०३० मिटर उचाइमा १७ सय मिटर केबलकार पहुँच रहेको टावरमा होटल सञ्चालन हुनेछ।
होटलमा रेस्टुराँ बार, ब्यान्क्वेट, सभाहल, स्विमिङ पुल, स्पा, फिटनेस सेन्टरलगायतका सुविधा रहनेछन्। यो होटल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४५ किमिमा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७५ किमिमा रहेको छ।

लेमन ट्रिले विभिन्न सेगमेन्टमा फरक फरक ब्रान्डका होटल सञ्चालन गर्दै आएको छ।
लेमन ट्रि होटल्समा फ्रेन्चाइज बिजनेस हेर्ने सीईओ विलास पावरले नेपालमा उपस्थिति जनाउन पाउँदा खुसी लागेको बताए।
‘नेपालमा हाम्रो उपस्थिति अझै बढाउँदै छौँ, अहिले दुईवटा होटल रहेकामा अझै तीन प्रोपर्टी आउँदै छन्। भारत र भारतबाहिर हाम्रो फरक आतिथ्य अनुभवलाई विस्तार गर्न प्रतिबद्ध छौँ’, उनले भने।
कम्पनीका भारतसहित दुबई, भुटान र नेपालमा उपस्थिति छ।
Shares

प्रतिक्रिया