नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको थुनछेक आज (शुक्रबार) हुन सकेन।
बकपत्र र थुनछेक बहसका लागि उनीहरुलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलास तोकिएको थियो।
तर यो इजलासका एक न्यायाधीशले हेर्न नमिल्ने भएपछि मुद्दाको प्रक्रिया अगाडी नबढेको विशेष अदालतले जनाएको छ। अब उनीहरुलाई पुनः आइतबार अदालतमा
उपस्थित गराइनेछ।
अधिकारीसहितले सम्झौताबमोजिम विस्तृत अध्ययन प्रतिवेदन पेसै नगरी र अन्य प्रक्रिया पनि पूरा नगरी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारको छ। अधिकारी र भण्डारीलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो।
बिहीबार सार्वजनिक बिदा भएकाले थुनछेक हुन सकेको थिएन। शुक्रबार पनि स्थगित भएपछि उनीहरुको हिरासत बसाई लम्बिएको छ।
अख्तियारले बुधबार अधिकारी र भण्डारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आरोप पत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारी, तत्कालीन उपप्रबन्धक हालका प्रबन्धक विक्रम थापा, तत्कालीन वरिष्ठ अधिकृत तथा हालका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई प्रतिबादी बनाइएको छ। ४ जना फरार छन्।
उनीहरू सबैलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबर रकम सामुहिक बिगो कायम गरिएको छ।
Shares

प्रतिक्रिया