कारोबार


सुनकोसीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

सुनकोसीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १६:१९, खोटाङ

सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। 

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो। 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ। विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो। 

गाईघाट–दिक्तेल सडक योजना कार्यालयका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न हुने जनाइएको छ। योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस १५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

ठेक्का सम्झौता गरेको लामो समयसम्म सुनकोशी नदीमा पानीको सतह नघटेकाले काम सुरु गर्न केही ढिलाइ भए पनि अब सतह कम हुँदै गएकाले तीव्र गतिमा काम अगाडि बढाइने ठेकेदार कम्पनीले जनाएको छ। अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३ ले लिएको छ। 

मूल्य अभिवृद्धि कर ९भ्याट० सहित रु ९६ लाख ७७ हजार ९३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडानको काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ। बेलिब्रिजका लागि आवश्यक सामग्री ल्याइसकिएकाले जडानको काम मात्र बाँकी रहेको जनाइएको छ। 

यस्तै सुनकोसीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ। खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशीस्थित बङ्शिलाघाटमा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो।

गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख। वर्ष जेठ पहिलो सातासम्म सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाइ ५१ दशमलव ८१ मिटर छ। बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए। 

लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन्। मोटरेबल पक्की पुलसमेत निर्माण भइरहेको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए। 

बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराएर जडानको काम सुरु गरिएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिए।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीयको समस्यालाई दृष्टिगत गर्दै बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरिए पनि त्यसले गति लिन सकेको छैन। तीन वर्ष आठ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेभीले विसं २०७७ पुस २८ गते ठेक्का सम्झौता गरेको मोटरेबल पक्की पुलको पिलर ठड्याउने काम मात्र भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad