कारोबार


सर्वोच्चले रोक्यो सिटिजन बैंकको सञ्चालक समिति निर्वाचन

सर्वोच्चले रोक्यो सिटिजन बैंकको सञ्चालक समिति निर्वाचन

फाइल तस्बिर


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १३:२१, काठमाडौँ

सर्वोच्च अदालतले सिटिजन्स इन्टरनेसनल बैंकको आजका लागि तय सञ्चालक समितिको निर्वाचन रोकिदिएको छ। 

रत्नेश्वर प्रसाद शर्माले निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिएको हो। 

न्यायाधीश श्रीकान्त पौडेलले रिटका विपक्षी नेपाल राष्ट्र बैंकसमेतसँग १५ दिनभित्र मागबमोजिम आदेश किन जारी नहुने भन्दै लिखित जवाफ पेस गर्न आदेश जारी गरेका छन्। 

बैंकले आजका लागि सञ्चालक समितिको निर्वाचन प्रक्रिया र साधारणसभासम्बन्धी काम गर्नलागेकाले त्यसलाई रोक्न शर्माले रिटमार्फत माग गरेका थिए। 

शर्मा बैंकको संस्थापक तथा साधारण सेयरधनी हुन्। उनको सर्वसाधारणतर्फ सञ्चालक पदमा उम्मेदवारी परेको थियो। तर राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ को संस्थागत स्ुशासनसम्बन्धी व्यवस्थाको बुँदा नम्बर १.१५ मा संस्थापक÷संस्थापक समूहको सेयरधारण गरेको सेयरधनीले संस्थापक सेयरबाहेक अन्य समूहबाट सञ्चालकमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेको भन्दै शर्माको उम्मेदवारी कायम नहुने भनी बैंकका सञ्चालक समितिका निर्वाचन अधिकृत रविन्द्र ढुंगानाले गत ८ गते निर्णय गरेका थिए। 

सोसँगै शर्माले सर्वोच्च गुहारेका हुन्। ‘सो सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १६ ले बैंक वा वित्तीय संस्थाको सञ्चालकको पदमा नियुक्त हुन योग्यता र दफा १८ ले सञ्चालक हुन अयोग्यता तोकेको भए पनि राष्ट्र बैंकबाट जारी उक्त निर्देशिकामा उल्लेख भएअनुसार बैंकको संस्थापक र साधारण सेयर धनी रहेका व्यक्ति बैंकको सर्वसाधारणतर्फको सञ्चालक हुन अयोग्य हुने उल्लेख भएको देखिएन’, आदेशमा भनिएको छ। 

त्यसकारण बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को उक्त कानुनी व्यवस्थाको रोहमा राष्ट्र बैंकबाट जारी निर्देशिका कार्यान्वयनमा व्याख्याको प्रश्न समावेश भएको देखिएकाले यसबारे प्रस्तुत निवेदनको अन्तिम आदेश हुँदा व्याख्या हुने भएकाले १२ गतेको निर्वाचन प्रक्रिया रिट निवेदन नटुंगिएसम्म कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो। 

यद्यपि साधारणसभा भने नरोकिने भएको छ। सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले साधारणसभा हुने बताए। 

‘अदालतको आदेश मानेर चुनाव हुँदैन तर अदालतले साधारणसभा रोक्नु नभनेकाले साधारणसभा भइरहेको छ’, उनले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad