नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय युवा परिषदले बुधबार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनीतिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन्।
हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उनको भनाई छ। जेन–जी आन्दोलनपछि नेपालमा नयाँ राजनितिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको छ। राजनीतिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताए।
उनले नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने बताए। उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ। उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिए।
राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताए।
५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उनको भनाई छ। उनले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
‘जबसम्म हामीले पोलिटिक्सलाई ईकोनोमीसँग सँगसँगै हाल्न सक्दैनौँ। कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ’ उनले भने, ‘हामीले यस्तो पोलिसि बनाउन पर्यो, उद्यमशील गर्ने मान्छेहरुलाई ह्यासल फ्रि एक्सेस दिनुपर्यो। पुराना पुराना पोलिसि जुन छन्, पुराना कानुनहरु जुन छन्, ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनहरुलाई चेन्ज गर्नुपर्यो।’
उनले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताए। झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उहाँको भनाई छ। युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उनले बताए।
Shares

प्रतिक्रिया