कारोबार


जेनजी आन्दोलनपछि ९३ प्रतिशतले खस्कियो वैदेशिक लगानी प्रतिबद्धता

जेनजी आन्दोलनपछि ९३ प्रतिशतले खस्कियो वैदेशिक लगानी प्रतिबद्धता

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १४:५४, काठमाडौँ

जेनजी आन्दोलनपछि नेपालमा वैदेशिक लगानी खस्किएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनमा भएको प्रदर्शनले लगानीको वातावरणमा प्रत्यक्ष असर गरेको हो।

साउन र भदौ महिनाको तुलनामा असोज र कात्तिकमा लगानी प्रतिबद्धता घटेको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार साउन महिनामा विभागमै आएर र स्वचालित रुट दुवैबाट कुल २४ अर्ब १० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो भने भदौमा ८ अर्ब ९८ करोडको प्रतिबद्धता स्वीकृत भएको थियो। 

तर असोजमा घटेर २ अर्ब ४ करोडबराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। त्यसैगरी कात्तिकमा थप घटेर १ अर्ब ५४ करोड रुपैयाँको मात्रै प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ। 

साउन महिनाको तुलनामा कात्तिक महिनामा ९३ प्रतिशतले कम प्रतिबद्धता आएको विभागले जनाएको छ। यो महिनामा अटोमेटिक रुटमार्फत ५४ वटा प्रस्तावमा ५० करोड रुपैयाँ वैदेशिक लागानी प्रतिबद्धता आएको थियो। त्यस्तै परम्परागत तरिकाबाट भने १७ वटा प्रस्तावमा १ अर्ब ४ करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो। 

समग्रमा कात्तिकमा १ अर्ब ५४ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। योसहित चालू आवको चार महिनामा कुल ३६ अर्ब ६८ करोड बराबरको प्रतिबद्धता स्वीकृत भएको हो।  

साउनको तुलनामा सामान्यतया भदौ, असोज र कात्तिकमा कम लगानी प्रतिबद्धता आउने गरे पनि यसपटक अपेक्षाभन्दा थोरै मात्र प्रतिबद्धता आएको हो। 

विदेशी लगानी साना उद्योगकेन्द्रित 
विभागमा आएको लगानीको प्रस्ताव अधिकांश साना उद्योगमा केन्द्रित छन्।

पहिलो चार महिनामा ३८२ वटा उद्योगको लागि लगानी प्रस्ताव आएकोमा ३६९ वटा प्रस्ताव साना उद्योगका छन् भने मध्यममा ६ वटा र ठूलो उद्योगमा ७ वटा छन्। 

यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा  
चालू आवको चार महिनामा सबैभन्दा धेरै लगानी कृषि क्षेत्रमा आएको छ। कुल ३६ अर्ब लगानी प्रतिबद्धता आएकोमा कृषिमा मात्रै २१ अर्ब ८८ करोड बराबरको प्रतिबद्धता आएको छ।

योबाहेक पर्यटन क्षेत्रमा ८ अर्ब ९४ करोडबराबरको प्रतिबद्धता आउँदा सेवामूलक क्षेत्रमा ३ अर्ब र उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६५ करोडबराबरको लगानी प्रतिबद्धता आएको छ।

यस्तै सूचना प्रविधिमूलक क्षेत्रमा ८७ करोडबराबरको लगानी प्रतिबद्धता आउँदा ऊर्जा क्षेत्रमा १८ करोड र खनिज क्षेत्रमा ४ करोडको प्रतिबद्धता आएको छ। 

लगानीबाट कसले कति लगे प्रतिफल?
यस्तै साउनदेखि कात्तिकसम्म लगानीकर्ताले रोयल्टीबापत ३८ करोड २२ लाख नेपाली रुपैयाँ लगेका छन्।

उनीहरुले ८ लाख १५ हजार अमेरिकी डलर र २० करोड भारतीय रुपैयाँ लगेका छन्।

यस्तै लाभांशमार्फत भने ६ करोड ७० लाख रुपैयाँ नेपालबाट बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad