कारोबार


महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छः अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छः अध्यक्ष ढकाल

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार १६:४९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन्।
 
शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवं छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए।

‘हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ,’ ढकालले भने, ‘चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस्। लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा होस्।  हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ।’

अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङ्गलाई गरेको आग्रहलाई उनीहरूले गम्भीरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे।

उनले मुकमा उत्पादन वृद्धि तथा रोजगारी सृजनाका लागि ठूलो मात्रामा स्वदेशी तथा विदेशी पूँजीको आवश्यकता रहेको बताउँदै त्यसका लागि मुलुक तथा मुलुक बाहिर छरिएर रहेको सानोसानो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गर्न आवश्यक रहेका उल्लेख गरे।

उनले त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आवद्ध संघसंस्थाहरु र त्यसका सदस्यहरुको समेत सहभागितामा १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए।

त्यस कम्पनीमार्फत ठूला र बहुआयामिक आयोजनाहरुमा लगानी गरि पूर्वाधार विकास, रोजगारी सृजना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरु लागेको बताए।

महासंघ अध्यक्ष ढकालले हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलो मात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको बताउदै उक्त विध्वंशमा संलग्नहरुलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गरे।

उनले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र सम्मृद्धि रहेका उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad