कारोबार


तातोपानी नाकामा चीनको कडाइले दैनिक १३/१४ वटा कन्टेनर मात्रै नेपाल फर्किन्छन्

तातोपानी नाकामा चीनको कडाइले दैनिक १३/१४ वटा कन्टेनर मात्रै नेपाल फर्किन्छन्

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १४:५९, काठमाडौँ

नेपाल–चीन व्यापारी नाकामा चीनले कडाइ गर्दा नेपाली कन्टेनर समयमै नेपाल फर्किन नपाएको व्यवसायीले गुनासो गरेका छन्। 

गत असारको बाढीपछि रसुवागढी नाका पूर्ण बन्द छ भने लामो समय लगाएर तातोपानी नाका सञ्चालनमा ल्याइएको छ। मुस्ताङमा कोरला नाका खोले पनि उक्त दुई नाकाबाटै व्यवसायीले खाद्यान्न, लत्ताकपडा, फलफूललगायतका वस्तुहरु आयात गर्ने गरेका छन्। कोरला नाका खुलेसँगै ईभीहरु भित्रिने गरेका छन्। 

यस्तोमा तातोपानी नाकाबाट आउनुपर्नेजति कन्टेनर नेपाल आउन नसकेको एक व्यवसायीले बताए। 

उनका अनुसार रसुवागढी बन्द रहेकाले तातोपानी नाकामा भीडभाड बढ्दा पनि समस्या सिर्जना भएको हो।  

‘पहिले दुईवटा नाका चलेका थिए। दिनमै एउटाबाट २५/३० वटा आउँदा दुवैमा गरी ६०/७० वटा आउँथे। अहिले एउटा मात्र सञ्चालनमा भएकाले भीडभाड बढेको छ। यसले पनि ढिलाइ भएको हुनसक्छ।’ 

समयमै आयात गर्न नसकिँदा लागत र भाडा बढेको उनले बताए। 

यता, तातोपानी भन्सार कार्यालयका अधिकृत तथा सूचना अधिकारी रमेश बहादुर शाहले पछिल्लो समय चीनबाट निकै कम संख्यामा कन्टेनर नेपाल भित्रिएको जानकारी दिए। 

शाहका अनुसार पछिल्लो समय औसतमा प्रतिदिन १३ देखि १५ वटासम्म कन्टेनर भित्रिरहेका छन्। गत बुधबार र बिहीबार भने त्यो संख्या बढेको उनको भनाइ छ।  

‘पछिल्ला दुई दिन अलि बढी संख्यामा भित्रिएका छन्। हिजो (बिहीबार) २६ वटा भित्रिएको छ भने अस्ति पनि २८ वटा जति भित्रिएको थियो’, उनले नेपालखबरसँग भने। 

नेपाल आउने कन्टेनरको संख्या बढाउन भन्सार कार्यालयको तर्फबाट र माथिल्लो तहबाट समेत प्रयास भइरहेको उनले बताए। 

‘विभाग (भन्सार) र महावाणिज्य दूतकै तहमा पनि सहजीकरण गराउने प्रयास भइरहेको छ’, उनले भने, ‘हामीले नाकामा काउन्टरपार्टसँग पनि सहजीकरणको प्रयास गरिरहेका छौँ।’

निकै कम संख्यामा कन्टेनर भित्रिँदा नेपाली व्यवसायीलाई भने समस्या भएको छ। भन्सार अधिकृत शाहका अनुसार एक/दुई दिनमै अब कार्यालयस्तरीय छलफल हुँदै छ। 

गत असारमा बाढीले मितेरी पुल बगाउँदा रसुवागढी नाका ठप्प भएको थियो भने तातोपानी नाकातर्फ पहिरोले सडक अवरोध भएको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल मर्मतसम्भार गर्न निर्देशन दिएपछि बाटो जसोतसो खुलाइएको थियो। 

अहिले वर्षात् नभएकाले बाटो सुचारु रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad