नेपाल र भारतले द्विदेशीय ट्रान्जिट रुटहहरू विस्तार गर्ने सम्झौता गरेका छन्। नयाँ दिल्लीमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र उनका भारतीय समकक्षी पियुष गोयलबीच भएको द्विपक्षीय वार्ताका यो सम्झौता भएको हो।
भारत र नेपालबीच पारवहन सन्धिको कार्यविधि संशोधनका लागि सम्झौतामा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको थियो। योसँगै पारवहन विस्तारअन्तर्गत भारतको जोगबनी र नेपालको विराटनगरबीच कार्गो रेल सेवालाई सहज हुने भएको छ।
यसका अतिरिक्त बिहीबार भएको सम्झौताले दुई देशका मुख्य करिडोरहरु कोलकाता–जोगबनी, कोलकाता–नौतनवा र विशाखापट्टनम–नौतनवासम्म रेल परिवहन सहज हुनेछ। यसले दुई देशसँगै नेपालको तेस्रो देशसँगको व्यापारलाई समेत सुदृढ पार्ने विश्वास गरिएको छ।
पत्र आदानप्रदानले जोगबनी–विराटनगर रेल सेवाबाट प्रत्यक्ष जोडिने भएको छ भने कन्टेनर र बल्क कार्गो सेवा सञ्चालन हुनेछ। यसले कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट विराटनगरनजिकै रहेको नेपाली भन्सार यार्डसम्मको यातायात परिवहनलाई पनि सहज बनाउनेछ। भारतीय अनुदान सहायतामा बनेको यो रेल लिंक सन् २०२३ जुन १ मा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए।
दुवै मन्त्रीहरुले अन्तर्सीमा सञ्जाल र व्यापार सहजीकरण तथा दुई देशबीच एकीकृत जाँचचौकीको विकासलगायतमा भइरहेको पहलको स्वागत गरेका थिए।
Shares

प्रतिक्रिया