कारोबार


विगतमा राजनीतिक हस्तक्षेपले विद्युत् बक्यौता असुलीमा समस्या थियो, अब त्यो रहेन: ऊर्जामन्त्री घिसिङ

विगतमा राजनीतिक हस्तक्षेपले विद्युत् बक्यौता असुलीमा समस्या थियो, अब त्यो रहेन: ऊर्जामन्त्री घिसिङ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ९:०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। 

आज सामाजिक सञ्जालमार्फत् घिसिङले विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब यो समस्या हटेको बताएका हुन्। 

‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका बेला डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ,’ ऊर्जामन्त्री घिसिङले फेसबुकमा लेखेका छन्, ‘यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ।’

उनले नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना हुँदा यो विषय राष्ट्रिय सरोकारको मुद्दा बनेको पनि उल्लेख गरेका छन्। 

‘अवस्था यस्तोसम्ममा पुगेको थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने सुनियोजित प्रयासहरू भएका थिए। तर, सबैको निरन्तर चासो, निगरानी र खबरदारी कारण अब बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ,’ उनले भनेका छन्, ‘हालको विषम परिस्थितिमा देशप्रतिको आफ्नो दायित्वबोधकासाथ बक्यौता रकमको किस्ता तिर्न सुरु गर्नुभएका सम्पूर्ण उद्योगी साथीहरूलाई हार्दिक धन्यवाद।’

घिसिङले बक्यौता असुलीमा आवश्यक सहयोग, समन्वय र सहजीकरण प्रदान गरेको भन्दै प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, उद्योग वाणिज्य महासंघका अध्यक्षसहित सम्पूर्ण पदाधिकारीप्रति पनि हार्दिक आभार व्यक्त गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad