अमेरिकाको 'हाउस अफ रिप्रेजेन्टेटिभ' (प्रतिनिधि सभा) ले देशमा जारी ‘सटडाउन’ (सरकारी बन्द) अन्त्य गर्ने विधेयक पारित गरेको छ।
बीबीसीका अनुसार विधेयक २२२-२०९ को मतले पारित भएको हो।
प्रतिनिधि सभा अमेरिकी कंग्रेस (संसद्) को तल्लो सदन हो भने सिनेट माथिल्लो सदन हो।
मतदानका क्रममा ६ जना डेमोक्र्याटिक सदस्यले अन्ततः रिपब्लिकन विधेयकलाई समर्थन गरे। विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ हस्ताक्षरका लागि जानेछ।
ट्रम्पले बिहीबार विधेयकमा हस्ताक्षर गर्ने योजना बनाएको बताएका छन्।
राष्ट्रपतिले अनुमोदन गरेसँगै अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी बन्द आधिकारिक रूपमा समाप्त हुनेछ।
विधेयक पारित भएपछि प्रतिनिधि सभाका सभामुख माइक जोनसनले भने, "हामी आज राहतको अनुभूति गर्छौं। डेमोक्र्याटिक बन्द अन्ततः समाप्त भएको छ।"
जोनसनले बन्दका लागि विपक्षी डेमोक्र्याटिक सांसदहरूलाई दोष दिए।
बन्दपछि धेरै सरकारी कार्य अवरुद्ध भएका छन्।
साथै ठूलो संख्यामा संघीय सरकारी कर्मचारीहरू कि बिदामा छन् कि तलबबिना काम गरिरहेका छन्।
सिनेटले सरकारी खर्चसँग सम्बन्धित विधेयक पारित गर्न असफल भएपछि सटडाउन भएको थियो।
सिनेटका सदस्यहरूले १४ पटक विधेयक अस्वीकार गरेका थिए।
त्यसपछि अमेरिकामा ४० दिनभन्दा बढी समयदेखि सटडाउन छ। यो अमेरिकाको इतिहासमै लामो सटडाउन भएको बताइएको छ।
Shares

प्रतिक्रिया