गतिशील लोकतान्त्रिक पार्टीका नेता वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताएका छन्।
पार्टीले बुधबार ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट निकाल्नका लागि न्यूनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको बताए।
न्यूनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उनको भनाई छ। अहिलेको अवस्थामा किसान केवल निर्वाहमुखी मात्रै हुने उनले बताए।
कृषि उत्पादन धान, गेडागुडी, स्याउ लगायत सबैको मूल्य तोक्नका लागि उद्योग स्थापना गर्न आवश्यक रहेको उनको भनाई छ। प्रथम उद्योग नखोली मूल्य कायम गर्न नसकिने उनले बताए।
उनले वर्षको एकपटक मात्रै फसल निस्कने हुँदा न्यूनतम समर्थन मूल्य र औद्योगिक संरचना बिना कृषिलाई व्यवसायीकरण गर्न नसकिने उल्लेख गरे। हाल सरकारले यान्त्रीकरण र शीतभण्डारणका नाममा सरकारले खर्बौं रुपैयाँ खर्च गरेपनि त्यसको प्रभावकारीता नदेखिएको उनको भनाई छ।
उनले गतिशील लोकतान्त्रिक पार्टीको सरकार बनेपछि कृषि क्षेत्रमा लगानीको मूल्याङ्कन गर्ने र न्यूनतम समर्थन मूल्य प्रणालीलाई संस्थागत रूपमा लागू गर्ने नीति लिने बताए।
उनले भने, ‘न्यूनतम समर्थन मूल्य नभईकन हाम्रो देशमा किसानहरु निर्वाहमुखी नै हुन्छन्। त्यसकारण न्यूनतम समर्थन मूल्य तोकेपछि मात्रै हाम्रो कृषिलाई व्यवसायीकरण या औद्योगिकरणमा हामीले परिवर्तन गर्नसक्छौँ। तर न्यूनतम समर्थन मूल्य तोक्नको लागि प्रथम उद्योग चाहिँ चाहिन्छ। धान, गेडागुडी या स्याउ जुनसुकै उत्पादनको होस्, त्यसको मूल्य तोक्नको लागि प्रथम उद्योग खोल्नुपर्छ।’
उनले राजनीतिलाई व्यवसायीकरण गर्न खोजेको बताए। उनले भ्रष्टाचारशून्य व्यवस्था, रोजगारी र समतामुलक समृद्धिलाई आफूहरूले मूल एजेण्डा बनाएको जानकारी दिए। आफ्ना एजेण्डालाई युवाहरूले मन पराउने पनि दाबी गरे।
Shares

प्रतिक्रिया