कारोबार


पर्वतमा ‘हाइटेक टनेल’ बनाउन २ करोडभन्दा बढी अनुदान

पर्वतमा  ‘हाइटेक टनेल’ बनाउन २ करोडभन्दा बढी अनुदान

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ६:२९, पर्वत

कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ। 

कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ।

स्थानीय किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा हाइटेक टनेल निर्माण कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख विनियोजन गरेको छ। गाउँपालिकाको कृषि शाखाका अनुसार यो कार्यक्रमले उत्पादनमा विविधता ल्याउने, बेमौसमी सब्जी खेतीलाई निरन्तरता दिने र युवालाई कृषिमा पुनः आकर्षित गर्ने अपेक्षा गरिएको छ। 

‘हामीले यस कार्यक्रममार्फत कृषकलाई प्रविधिको पहुँचमा ल्याउँदै दिगो आम्दानीको बाटो खोल्ने प्रयास गरेका हौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले भने। उनका अनुसार टनेल खेतीले परम्परागत प्रणालीभन्दा कम लागतमा बढी उत्पादन लिन सकिने भएकाले यसले कृषि क्षेत्रलाई नयाँ आयाम दिनेछ।

विहादीका अधिकांश किसानले विगत केही वर्षयता सानासाना टनेल प्रयोग गरेर प्रशस्त उत्पादन गरेका छन्। प्रविधिको पहुँच, पुँजी र संरचनाको अभावले हाइटेक टनेल खेती विस्तार गर्न नसकिएको स्थानीय किसानको भनाइ छ। 

गाउँपालिकाले यही आवश्यकता महसुस गर्दै सहकारी, समूह र फार्मलाई सहभागी गराएर सामूहिक रूपमा आधुनिक टनेल निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिए।

‘छ वटा वडा रहेको विहादीमा मौसमी तथा बेमौसमी तरकारी उत्पादनका लागि प्रशस्त सम्भावना रहेको छ। यहाँका सयौँ कृषक व्यावसायिक कृषिमा लागेका छन्। सडकको राम्रो पहुँच विस्तार भएसँगै बजारको समस्या छैन’, उनले भने।

कार्यक्रमअन्तर्गत सहभागी हुन चाहने कृषक, समूह वा सहकारीले सूचना प्रकाशित मितिदेखि १५ दिनभित्र आवश्यक कागजातसहित प्रस्ताव पेस गर्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार विशेषगरी हाइटेक टनेल खेतीमा सक्रिय कृषक समूहलाई प्राथमिकता दिइने छ।

यो कार्यक्रम सफल भएमा विहादी गाउँपालिकालाई ‘हाइटेक कृषि क्षेत्र’ का रूपमा चिनाउने पालिकाको कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए। स्थानीय उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्ने र गाउँमै रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको उनको भनाइ छ। 

कृषि क्षेत्रलाई जोड दिँदै आएको विहादीले यसअघि पनि टनेल विस्तार अभियान थालेको थियो । टनेलसँगै मल्चिङ प्लाष्टिक, सिकेचर, स्प्रे तथा बीउबिजनमा अनुदान दिँदै आएको जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad