नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरेको छ।
नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँसम्म मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। यो व्यवस्थाअनुसार अब प्रतिदिन ५० हजार रुपैयाँसम्म मात्रै कारोबार हुनेछ। यसअघि प्रतिदिन एक लाख रुपैयाँसम्म कारोबार हुँदै आएको थियो।
यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँसम्म कारोबार गर्न सकिनेछ। प्रतिदिन २० हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न सकिने र मासिक रूपमा दुई लाख रुपैयाँसम्म कारोबार हुनेछ। प्रिपेड कार्डबाट हुने कारोबारमा भने कुनै संशोधन भएको छैन। क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पूरानै व्यवस्था कायम छ।
त्यस्तै, क्यासिनो सहित यस्ता प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले सूचना प्रकाशित गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ।
विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावली समेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने सम्बन्धमा नयाँ व्यवस्था गरिएको जनाएको हो। क्यासिनो लगायतका संस्थाले इजाजत लिएर विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्नु÷गराउनु पर्ने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ।
Shares

प्रतिक्रिया