कारोबार


जेनजी आन्दोलनले फेरिदियो बिमा गर्ने प्रवृत्ति

बिमा र नवीकरण गर्ने बढे, हुनथाल्यो यथार्थ मूल्यबराबर नै सम्पत्तिको बिमा
जेनजी आन्दोलनले फेरिदियो बिमा गर्ने प्रवृत्ति

सम्झना घिमिरे
कात्तिक २५, २०८२ मंगलबार ६:३६, काठमाडौँ

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि निर्जीवन बिमाको प्रवृत्ति फेरिएको छ। आफ्नो सम्पत्तिको मूल्यांकन थोरै देखाएर बिमा गर्ने प्रवृत्तिमा परिवर्तन आएको हो।

थोरै प्रिमियम तिर्दा हुने भएकाले मानिसहरूले यसअघि आफ्नो सम्पत्तिको यथार्थ मूल्यांकनमा बिमा गर्दैनथे। जसले गर्दा क्षति भएको अवस्थामा उनीहरूले बिमाबराबरको दाबी पाए पनि क्षतिबराबरको भुक्तानी हुँदैनथ्यो। 

जेनजी प्रदर्शनमा आफ्नो सम्पत्तिमा व्यापक क्षति भएका कारण अहिले मानिसहरूले क्षतिबराबरको भुक्तानीका लागि यथार्थ मूल्यबराबर नै सम्पत्तिको बिमा गर्नथालेका हुन्।  

सोही कारण अहिले निर्जीवन बिमा गर्ने क्रम पनि बढेको छ। निजी तथा सरकारी सम्पत्तिहरूमा ठूलो क्षति पुगेसँगै त्यसले निर्जीवन बिमाको आवश्यकता बढाएकाले ग्राहक आकर्षित भएका छन्।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमखु कार्यकारी अधिकृत चन्की क्षेत्री जेनजी प्रदर्शनपछि बिमाप्रतिको धारणा परिर्वतन भएको बताउँछन्। 

‘अहिले नयाँ बिमा गर्ने र नवीकरण गर्दा पनि भ्यालुएसन बढाएर गर्ने बढेका छन्’, उनले नेपालखबरसँग भने। 

क्षेत्री आन्दोलनले क्षति पुगेका ग्राहकहरूले पनि सम्पत्तिबराबरको भ्यालुएसन देखाएर बिमा नगर्दा क्षतिअनुसारको दाबी नपाएको बताउँछन्।

प्रदर्शनपछि क्षति पुगेका व्यावसायिक कम्पनी तथा व्यक्तिगत निर्जीवन बिमितहरूले पनि पूरै सम्पत्तिको मूल्यबराबरको मूल्यांकन नगर्दा दाबी पनि थोरै पाएका थिए। यसले सम्पत्ति सुरक्षाका लागि सम्पत्तिबराबरको मूल्यांकन गरेर बिमा गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ।

उनले भनेजस्तै यतिबेला नयाँ बिमा गर्नेमात्रै बढेका छैनन्, नवीकरण गर्न आउनेको संख्या पनि बढेको छ। त्यस्तै नवीकरण गर्दा सम्पत्ति भ्यालुएसन जति हो त्यति देखाउने बिमितको संख्या पनि बढ्न थालेको छ। 

साउन र भदौ महिनामा ठीकै देखिएको बिमालेख बिक्री असोज महिनामा बढेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार असोज महिनामा मात्रै २ लाख ४३ वटा निर्जीवन बिमालेख बिक्री भएका छन्। यसबाट बिमा कम्पनीहरूले एकै महिना ४ अर्ब ३९ करोड बराबरको शुल्क आर्जन गरेका छन्। यो पछिल्लो तीन महिनायताकै धेरै हो।

सामान्यतया साउन महिनामा बिमा खरिद बढ्ने गर्छ। तर यो पटक भने साउन र भदौ महिनाभन्दा जेनजी आन्दोलनपछिको महिना असोजमा सबैभन्दा धेरै बिमालेखहरू बिक्री भएका छन्।

साउन महिनामा १४ वटा बिमा र ४ वटा लघुबिमा गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरूले २ लाख ४३ हजार ७ सय ४१ वटा बिमालेख बिक्री गरेका थिए भने सो बिमालेखबाट ४ अर्ब ३९ करोड ६७ लाखबराबरको बिमाशुल्क संकलन गरेका थिए।

भदौमा थोरै बढेर बिमा कम्पनीहरूले कुल २ लाख ४६ हजार ५ सय ६६ वटा बिमालेख बिक्री गरे भने सो बाट ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरे।

असोजमा भने बिमा कम्पनीहरूले भदौको तुलनामा १७.७३ प्रतिशतले धेरै बिमालेख बिक्री गरेका छन्। 

जेनजी प्रर्दशन पछिको क्षतिले बिमाको अपरिहार्यता महशुस गराएसँगै त्यसको प्रभाव बिमालेख बिक्रीमा देखिन पुगेको हो। 

असोज महिनामा बिमा कम्पनीहरूले कुल २ लाख ९० हजार ३ सय ५ वटा बिमालेख बिक्री गरेका छन्। जसबाट यी कम्पनीहरूले ४  अर्ब ५३ करोड १४ लाख बराबरको बिमाशुल्क संकलन गरेका हुन् । 

यो साउन र भदौ महिनायताकै धेरै हो। यो अवधिमा सबैभन्दा धेरै सम्पत्ति मोटरको र सम्पत्तिको बिमा धेरै भएका छन्।

प्राधिकरणका अनुसार साउन, भदौ र असोज महिनामा बिमा कम्पनीहरूले ३ लाख ७० हजार ३३९ वटा बिमालेख बिक्री गर्दा १ लाख २७ हजार १ सय २५ वटा सम्पत्ति बिमालेख बिक्री गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad