कारोबार


लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १७:६, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन्।

चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका हुन्।

भेटका क्रममा निवर्तमान अध्यक्ष मल्लले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुपर्ने बताए।

नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यावसायिक साझेदारीमार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ। 

उनले भने, ‘चीनदेखि भारत सीमासम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ।’

नेपालले भौगोलिक रुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए।

नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए। निवर्तमान अध्यक्ष मल्लले भने, ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी छन् । त्यसको १ प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्नेछ।

नेपालका सुन, तामा, युरेनियमलगायतका खानीहरूको प्रचुर सम्भावनालाई औँल्याउँदै निवर्तमान अध्यक्ष मल्लले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए।

चीनसँग नेपालको व्यापारघाटा उच्च रहेको अध्यक्ष मल्लले बताए। उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ।’

यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए।

सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानीमार्फत पुनः निर्यातको सम्भावना रहेको बताउँदै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि नेपाल चेम्बर अफ कमर्स प्रतिबद्ध रहेको बताए।

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन गर्न आफूहरु प्रयासरत रहेको बताए।

उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मक रूपमा अघि बढाइने प्रतिबद्धता जनाए। नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad