कारोबार


दीपिका बस्न्यात : जसले ३ घण्टासम्म अनुनय गर्दै प्रदर्शनकारीबाट जोगाइन् अर्बपतिको व्यावसायिक भवन

दीपिका बस्न्यात : जसले ३ घण्टासम्म अनुनय गर्दै प्रदर्शनकारीबाट जोगाइन् अर्बपतिको व्यावसायिक भवन

दीपिका बस्न्यात, पृष्ठभूमिमा सानेपाको सीजी कर्पोरेट कार्यालय


नेपालखबर
कात्तिक १९, २०८२ बुधबार २०:४, काठमाडौँ

भदौ २४ गते काठमाडौं उपत्यकाको आकाशैभरि धूवाँको मुस्लो उडिरह्यो। सिंहदरबारदेखि संसद् भवनसम्म, नेताका घरदेखि व्यवसायीका व्यावसायिक भवनसम्ममा प्रदर्शनकारीले आगो लगाइदिएका थिए। 

सार्वजनिक भवनमा आगो लगाएपछि नेताका घर निशानामा परे। त्यसपछि निजी क्षेत्रका व्यावसायिक भवनमा आगो झोस्न थाले। त्यस दिन ललितपुरको सानेपामा एउटा अलि फरक दृश्य देखियो। 

सानेपामा चौधरी ग्रुपको कर्पोरेट कार्यालयतर्फ एक हूल प्रदर्शनकारी लम्किए। यतिकैमा एक महिला उनीहरुलाई रोक्ने प्रयास गर्दै थिइन्। हरतरहको अनुनय–विनयपछि प्रदर्शनकारीलाई शान्त बनाउन उनी सफल भइन्। 

त्यसदिनको यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ। 

भिडियोमा देखिन्छ– ती महिला निजी सम्पत्तिमा क्षति नगर्न, भवनमा आगो नलगाउन प्रदर्शनकारीलाई तारन्तार आग्रह गरिरहेकी छिन्। 

‘यसो नगर, आगो लाग्यो भने कसले निभाउने? आगो लागाउँदा हामी सबैलाई असर पर्छ, त्यसो नगर...’, उनी बोलिरहेको दृश्य देखिन्छ भिडियोमा। 

सीजीको भवन जोगाउने ती महिला हुन् सानेपाकी दीपिका बस्न्यात। आफ्नो घरबाट सय मिटरनजिकै रहेको चौधरी ग्रुपको कर्पोरेट अफिस जलाउन प्रदर्शनकारी आएपछि उनले अनुरोध गरेकी थिइन्। बस्न्यातकै अनुनयले अन्ततः चौधरी ग्रुपको व्यावसायिक भवन जोगिन पुग्यो। 

चौधरी ग्रुपको कर्पोरेट कार्यालय जाने बाटैको मोडमा उनको घर छ। त्यहीँ बस्न्यातको किराना र मदिरा पसल छ। त्यो दिन पनि उनी बाटोमा आउने प्रदर्शनकारी र उनीहरुको हाउभाउ नियालिरहेकी थिइन्, पसलमा बसेर। 

आफ्नै घर भएका कारण हुलदंगाको परिस्थिति सिर्जना भए बन्द गरौँला भन्दै उनले पसल खोलेकी थिइन्। नजिकै रहेको चौधरी ग्रुपका व्यावसायिक र व्यक्तिगत भवनहरु तोडफोड भएको र आगो सल्काइएका समाचार आइरहेका थिए। 

सिंहदरबार, संसद् भवन, हिल्टन होटल र भाटभटेनी जलेका दृश्य मिडियाले देखाइरहेका थिए। त्यसले उनको मनमा चिसो पसिसकेको थियो। कारण, उनको घरनजिकै नेपालकै सबैभन्दा ठूलो व्यावसायिक साम्राज्यको कर्पोरेट हाउस थियो। त्यसमा क्षति पुग्दा छेवैमा आफू र अन्य छिमेकमा आगो फैलिने सम्भावना थियो। 

घरिघरि त्यता आए कि भन्ने डर उनमा दिनभर पसिरह्यो। 

‘२४ भदौको साँझ साढे ७ बजेतिर १०/१२ जनाको टोली आएर सीजीमा आगो लगाउन खोजे। त्यसपछि डरले केही नसोची उनीहरुसँगै म पनि सीजी भवनभित्र पसेँ’, उनले त्यो दिन सम्झिइन्। 

बस्न्यातको पछि–पछि उनका श्रीमान् पनि आएका थिए। तर श्रीमानसँग प्रदर्शनकारी झन् रिसाएको उनी बताउँछिन्। पछि उनी आफैँ अघि सरेर नजलाउन आग्रह गरेको उनको भनाइ छ। 

भित्र ठूला ब्याट्री र पड्किने वस्तुहरु हुनसक्ने र आगो लागेमा नजिककै आफ्नो घरहरु सबैलाई असर गर्ने भन्दै भीडसँग निरन्तर आगो नलगाउन भनेको बस्न्यात सम्झिन्छिन्।

‘यहाँ सबै घरहरु टाँसिएका छन्, सीजीको अफिस जल्दा त सबैलाई असर पर्ने भइहाल्यो, त्यही भएर पनि म आगो लगाउन नदिने अडान कसेरै उनीहरुलाई आग्रह गरिरहेँ’, उनले नेपालखबरसँग भनिन्।

पहिलो र दोस्रो टोलीलाई उसैगरी अनुनय गरेपछि प्रदर्शनकारीले आगो भने लगाउन सकेनन्। बरु भवन र गाडीहरुमा ढुंगामुढा गरे। एकैछिनमा कार्यालयका भवन र परिसरमै रहेका १०/१२ वटा गाडी तोडफोड भयो।

‘उनीहरु खासमा यो भवन जलाउन आएका थिएनन्, विनोद सर (चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी) यतै लुकेको हुनसक्ने भन्दै आएका थिए’, उनको आकलन छ। 

करिब ३ घण्टासम्मको अनुनयपछि प्रदर्शनकारीहरु बाहिरिन थाले। बेलुकी ७ बजे सीजी कर्पोरेट अफिस पुगेकी उनी पनि राति करिब ११ बजे त्यहाँबाट निस्किइन्। 

त्यही दिन राति १० बजेदेखि सेनाले सुरक्षा अवस्था आफूले जिम्मा लिएको माइकिङ गरेको थियो।

‘सेना बाटोमा हिँड्न थालेपछि अब आउँदैनन् भनेर बल्ल म घर फिरेँ’, उनी सुनाउँछिन्।

बस्न्यातको सानो अनुनयले सिंगो सीजीको करोडौँ लगानी रहेको केन्द्रीय कार्यालय खरानी बन्नबाट जोगिएको थियो। 

निजी र सार्वजनिक संरचनाहरु ध्वस्त भएसँगै देशमा अहिलेको नयाँ सरकार आएको हो। योसँगै २४ गतेको भयावह केही मथ्थर हुनथाल्यो। त्यसपछि बस्न्यातलाई खोज्दै आउने मान्छे बढ्न थाले। 

आउनेमध्ये व्यावसायिक साम्राज्य चलाइरहेको सीजी ग्रुपका प्रबन्धनिर्देशक निर्वाण चौधरी पनि थिए। बस्न्यातकै किराना पसलमा आएका चौधरीले उनलाई धन्यवाद भने।

‘निर्वाण सर आएर थ्यांक्यु भनेपछि पो मैले त ठूलो काम गरेछु भन्ने लाग्यो’, दीपिका बस्न्यात भन्छिन्।

आफ्नो कार्यालय बचाउन नचिनेकी ती महिलाले गरेको अनुनय निर्वाणले भिडियोमा देखेका थिए। सोही कारण उनलाई भेट्न पसलमा पुगेका थिए उनी।

झण्डै आधा घण्टा गफिएर फर्किएपछि उनले सामाजिक सञ्जालमा असाधारण महिलाको रुपमा चिनाउँदै निराशाका बीच आशा देखाउने व्यक्ति भन्दै बस्न्यातबारे पोस्ट गरे। 

‘जब उत्तेजक भीड तोडफोड गर्न हाम्रो अफिसतिर लम्कियो, उनी एक्लै उभिइन्। जब कि उनीसँग त्यसो नगर भन्नेबाहेक रोक्ने अरु उपाय नै थिएन। उनैको अनुनयले नै अन्ततः भीड फर्कियो’, निर्वाणले फेसबुकको टाइमलाइनमा लेखेका छन्। 

पोस्ट सबैतिर फैलिएपछि बस्न्यातको प्रशंसा चुलिएको छ। 

‘त्यसपछिका मेरा दिनहरु बदलिए, धेरैले मेरो कामको प्रशंसा गर्दै धन्यवाद भन्नुभयो। आफैँलाई ठूलो नलागेको कुरा समाज र देशको लागि कति ठूलो हुने रहेछ भन्ने अनुभूति भइरहेको छ’, उनले भनिन्।  

१० वर्षदेखि पसल चलाइरहेकी बस्न्यातलाई आजभोलि पनि सीजीको अफिस आउजाउ गर्ने कर्मचारीहरु धन्यवाद दिइरहन्छन्। उनीहरु केही खाने बहानामा त केही अस्ति हाम्रो अफिस बचाउने तपाईं हो भन्दै आइपुग्ने गरेको उनको भनाइ छ। 

‘अहिले त अफिसमा धेरैले चिन्नुहुन्छ, निर्वाण सर पनि आउजाउ गर्दा नमस्कार गर्दै हिँडेको देख्दा खुसी लाग्छ’, उनले सुनाइन्।

सीजीका कर्पोरेट कम्युनिकेसन्स विभाग प्रमुख मधुसूदन पौड्याल व्यावसायिक भवनमा आगो लगाउँदै हिँड्ने चरम नकारात्मक जमातका बीच समाजमा दीपिका बस्न्यातजस्ता उच्च सोच राख्ने मानिस पनि रहेको उल्लेख गर्दै देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउने हो भने उनको विचारलाई समाजले पछ्याउन सक्नुपर्ने बताउँछन्।

‘देशमा केही भएन भनेर निराशा व्यक्त गरिरहँदा यो देशका लागि केही गरेर उदारहण प्रस्तुत गरिरहेको, सामाजिक रूपमा दसौँ हजार रोजगारी सिर्जना गरेको, आर्थिक रूपमा सरकारलाई १८ अर्ब वार्षिक ट्याक्स तिर्ने र नेपालमा उद्यमशीलतामार्फत युवाहरूका आकांक्षा सम्बोधन गर्न सम्भव छ भनेर देखाइदिएको चौधरी ग्रुपलाई दीपिकाले दैनिक आफ्नै आँखाले हेरिरहनुभएकाले ग्रुपमाथिको आक्रमण उहाँलाई सैह्य भएनजस्तो मलाई लाग्छ’, पौड्यालले भने, ‘उहाँ आफैँ पनि व्यवसायमा सहभागी हुनुभएकाले यसको मर्म महसुस गर्नुभयो र त्यत्रो अराजक जमातलाई समेत सम्झाउन सफल हुनुभयो। हामी उहाँप्रति आभारी छौँ।’

चौधरी ग्रुपले जेनजी प्रदर्शनमा मृत्यु भएका हरेक सहिद परिवारका एक एक सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरेको थियो। सो क्रममा कर्पोरेट अफिस भएको स्थानको वरपरका सहिद परिवारका सदस्यलाई व्यक्तिगत रुपमै पनि भेटेर सहयोग गर्ने प्रतिबद्धता जनाएको पौडेलले जानकारी दिए।

२४ गते सीजीकै थापाथलीमा रहेको ईभी गाडीको शोरुममा पनि आगो लगाइएको थियो। थापाथलीकै सेन्ट्रल बिजनेस पार्क अहिले भग्नावशेष मात्र छ। लहरै रहेका गाडीका शोरुमहरु पनि तोडफोड र आगजनीमा परे। 

सो क्रममा सीजी कर्पोरेटलाई बस्न्यातले जोगाएजस्तै थापाथलीमा रहेको हुन्डाई गाडीको शोरुम पनि सेक्युरिटी गार्डहरुले जोगाएका थिए। 

हुन्डाईको अधिकृत वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डीएमडी दीपक थपलिया शोरुममा आगो लगाइए पनि तत्कालै आगो निभाउन सक्दा ठूलो क्षति हुन नपाएको बताउँछन्। 

‘हाम्रोमा पनि जलेको हो। सीजीहरुको जस्तो ठूलो क्षति हुन भने पाएन। तत्कालै हाम्रा गार्डहरुले आगो निभाउन सफल भए। उहाँहरुको सक्रियताका कारण हाम्रो शोरुममा ठूलो क्षति हुन पाएन’, थपलियाले नेपालखबरसँग भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad