ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशनसम्बन्धी नीति (पोलिसी) चाँडै परिमार्जन हुने बताएका छन्।
बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री घिसिङले चार्जिङ स्टेशनका केही नीति सुधार आवश्यक रहेको उल्लेख गर्दै भने, ‘चार्जिङ स्टेशनसम्बन्धी केही पोलिसी रिफर्म गर्नुपर्नेछ, यो पनि हामी चाँडै अर्को बोर्डबाट पास गर्छौं।’
उनीले विद्युत प्रयोगलाई यातायात र घरायसी क्षेत्रमा विस्तार गर्न सरकारले विशेष प्राथमिकता दिएको बताउँदै, यातायात र खाना पकाउने कार्यमा विद्युतको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिए।
मन्त्री घिसिङले भने, ‘हामी अहिले गाउँगाउँमा पुगेको ग्रिडलाई उपयोग गरेर इन्डक्शन कुकिङतर्फ लैजाने प्रयास गर्दैछौं। यसले विद्युतको माग बढाउँछ र ऊर्जा खपतलाई दक्ष बनाउँछ।’
उनीले ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणलाई प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, मन्त्री घिसिङले विन्ड इनर्जी (हावाबाट ऊर्जा उत्पादन) को क्षेत्रमा पनि नेपालमा ठूलो सम्भावना रहेको बताउँदै, यस क्षेत्रमा लगानी गर्न इच्छुक निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा उनले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुर्याएको भन्दै जर्मन सरकारप्रति आभार व्यक्त गरे।
Shares

प्रतिक्रिया