कारोबार


अनिल अम्बानी : जो ऋणमा डुबेर टाट पल्टिए, अहिले ‘कमब्याक’ गर्दै छन्

कुनै बेला विश्वकै छैठौँ धनाढ्य बनेर ऋणमा फसेका उनको सफलताको कथा
अनिल अम्बानी : जो ऋणमा डुबेर टाट पल्टिए, अहिले ‘कमब्याक’ गर्दै छन्

उनले भर्खरै गरेको सफलतातर्फको ‘कमब्याक’ले धेरैलाई व्यावसायिक पाठ पनि सिकाएको छ (तस्बिर : रोयटर्स)


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १७:४७, काठमाडौँ

धिरुभाइ अम्बानीका कान्छा छोरा र मुकेश अम्बानीका भाइ हुन् अनिल अम्बानी। 

मानिसहरु अहिले उनलाई जीवनमा धेरै उतारचढाव भोगेको व्यक्तिका रुपमा पनि चिन्छन्। 

बलिउड अभिनेत्री टिना मुनिमसँग विवाह गरेका यी व्यवसायीका दुई छोराहरु जय अनमोल अम्बानी र जय अंशुल अम्बानी छन्। 

अनिलको करिअरले जीवनमा धेरै उतारचढाव झेलेको छ। कुनै बेला संसारकै छैठौँ ठूलो धनीका रुपमा वाहवाही कमाएका उनी आफैँले फेरि कुनै बेला बैंकको ऋणमा डुबेर टाट पल्टिएको घोषणा गर्नुपरेको थियो। 

समय बगिरहन्छ जीवनमा। दर्दनाक आर्थिक अवस्थाबाट उनी फेरि सफलताको सिँढी चढ्दै छन्।

यो अनिलको उतारचढावपूर्ण व्यावसायिक यात्राको कथा हो। असफलताको पाठ सिकेर सफलतातिर लम्किरहेको व्यवसायीको ‘कमब्याक’को कथा। 
...

मुकेश र अनिल

दाजुभाइको त्यो मनमुटाव 
जब अनिल र मुकेशका बुबा धिरुभाइको देहान्त भयो। धिरुभाइले छोराहरुका लागि आफ्नो उत्तराधिकारी योजना वा इच्छाबारे केही भनेका थिएनन्। यसले चलिरहेको व्यवसाय कसरी हाँक्ने भन्ने अन्योलको अवस्था बन्यो। मुकेश टेलिकम व्यवसायमा लगानी गर्न चाहन्थे। अनिललाई भने ऊर्जा व्यवसाय हुर्काउने चाहना थियो। 

दाजुभाइको कुरा मिलेन अनि सुरु भयो व्यवसायमाथिको झगडा। त्यसपछि धिरुभाइ अम्बानीकी श्रीमती कोकिलाबेनले रिलायन्स ग्रुपलाई सन् २००५ मा दाजुभाइलाई बराबरी हुने गरी बाँड्ने निर्णय गरिन्।

मुकेशले रिलायन्स इन्डस्ट्रिज र आईपीसीएल पाए। जसबाट कच्चा तेल प्रशोधन, पेट्रोकेमिकल्स उत्पादन र तेल तथा ग्यास अन्वेषणको व्यवसाय पनि सँगै आयो। 

उता अनिलले रिलायन्स कम्युनिकेसन्स, रिलायन्स क्यापिटल र रिलायन्स पावर हात पारे। यी कम्पनीहरु सबैलाई अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) भनेर चिनियो। 

जति कम्पनीहरु अनिलले पाए तिनमा भविष्यका लागि ठूलो सम्भावना थियो। 

अनिल द्रुत निर्णय लिन चतुर थिए। धेरै प्रभावकारी परियोजनाहरु घोषणा गरे। यसका लागि धेरै बैंकहरुसँग ठूलो परिमाणमा ऋण लिए।

रिलायन्स कम्युनिकेसनको सुरुवात अनिलको ठूलो सफलता थियो। जुन भारतकै ठूलो टेलिकम्युनिकेसन कम्पनी पनि बन्यो। यति मात्र नभई उनले रिलायन्स पावरलाई पनि स्थापित बनाए। 

दुई वर्षमै अनिलको कुल सम्पत्ति कुल ४० खर्ब भारु पुग्यो। व्यवसायमा मिलेको सफलतासँगै अम्बानीको सम्पत्ति सन् २००८ मा १८ अर्ब अमेरिकी डलरबाट ४२ अर्ब डलर पुगेको थियो। जुन सम्पत्तिले उनी विश्वकै छैठौँ धनाढ्य बन्नपुगे। 

अनिल (रोयटर्स)

त्यसपछि सुरु भयो पतन
अनिल अम्बानीको अवनतिमा धेरै कुराहरु कारक बनेका छन्। उनको ठूलो ऋण तीमध्येको एउटा कारण थियो। उनको नाफाको मुख्य स्रोत रिलायन्स कम्युनिकेसन्स थियो। तर विडम्बना यसले टेलिकम क्षेत्रमा प्रतिस्पर्धा गर्न नै सकेन। अर्थात् फोरजीमा अपग्रेड नै हुनसकेन। अरु नेटवर्कहरु फोरजीको योजनाहरुसहित बजार भित्रिए। मानिसहरु त्यसपछि रिलायन्स छोडेर भोडाफोन र एयरटेलतिर गए। 

अवस्था बिग्रिरहेको थियो। उनका धेरै कम्पनीहरु सन् २०१५ सम्ममा बन्दै हुने अवस्थामा गइरहेका थिए भने एडीएजीको जम्माजम्मी ऋण १२ खर्ब ५० अर्ब भारु पुगेको थियो। 

व्यवसाय घाटामा जानुका बाबजुद अनिलले २० अर्ब भारुमा पिपाभभ डिफेन्स नामक कम्पनी खरिद गरे र ‘रिलायन्स डिफेन्स’ नामकरण गरे। तर समयमै परियोजना दिन नसक्दा यो कम्पनी पनि बन्द भयो। 

त्यहीबेला मुकेश अम्बानीले पनि जियो लन्च गरे। यसले टेलिकम क्षेत्रको अनुहार बदलिदियो। अनिलको रिलायन्स कम्युनिकेसन्सको बजार त झन् त्यसपछि २ प्रतिशतमा झर्‍यो। त्यही बेला सर्वोच्च अदालतले अनिललाई स्विडिस टेलिकम कम्पनी एरिक्सनको ऋण तिर्न या तीन महिना जेल बस्ने आदेश दियो। त्यो बेला भने दाजु मुकेश ऋण तिर्न कस्सिए। ४ अर्ब ५३ करोड भारुबराबरको ऋण चुक्ता गरिदिएर भाइलाई जेल जानबाट बचाए। 

तर २०२० मा उनले कसैबाट सहयोग पाएनन्। उनी बैंकहरुको ऋणमा चुर्लुम्म डुबे र टाट पल्टिएको घोषणा गरे। 

छोराहरूसँग अनिल

छोराको सहयोग र सफल ‘कमब्याक’ 
त्यसो त उनका छोरा जय अनमोल अम्बानीले प्रत्यक्ष रुपमा बुबा अनिलको ऋण भुक्तानी नगरे पनि केही व्यवसाय ब्युँताउन सक्रिय रूपमा लागे।

रिलायन्स ग्रुपमा अनमोलले व्यवसाय सञ्चालनको जिम्मा लिए। त्योसँगै कम्पनीको सेयर मूल्य ४० प्रतिशतले बढाउन सफल भए। अनमोलले चर्चित जापानी कम्पनी निप्पनलाई आफ्नो कम्पनीमा रहेको सेयर स्वामित्ववृद्धिका लागि आश्वस्त पार्न सफल भए। 

यो त छँदै थियो, अनमोलले त्यसपछि रिलायन्स लाइफ इन्स्योरेन्स र रिलायन्स क्यापिटल एसेट म्यानेजमेन्ट स्थापना गरे। जुन हिसाबले उनी नयाँ सम्झौता गर्न सफल भए, त्यसले रिलायन्स ग्रुपमा महत्त्वपूर्ण भूमिका खेल्यो।

पछिल्लो समय अनिलले सबैको ध्यान खिच्न सफल भएका छन्। छोराको सहयोगसँगै रिलायन्स ग्रुपको ऋणमा डुबेको व्यवसायले समेत पुनर्जीवन पाएका खबरहरु फैलिँदै छन्। अहिले अनिलका रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चर पूर्णरुपेण ऋणमुक्त मात्र भएका छैनन्, नाफाको स्वाद चाख्न थालेका छन्। 

जसै अनिल व्यावसायिक सफलतामा ‘कमब्याक’ गर्दै छन्, उनको मूलध्यान हरित ऊर्जा र रक्षा क्षेत्रमा गइरहेको छ। जुन भारत सरकारको ‘विकसित भारत २०४७’ भिजनको मुख्य अंग पनि हो। यो मात्र होइन, अनिलस्वामित्वका रिलायन्स इन्फ्रास्ट्रक्चर लिमिटेडको सेयरहरु ९.६४ प्रतिशतले बढेर एक वर्षयताकै उच्च अर्थात् प्रतिकित्ता ३७४.९० भारु पुगिसकेको छ। 

यसरी अनिल त्यस्ता व्यक्ति बनेका छन् जसले सफलताको मात्रै हैन, असफलताको तीतो स्वाद पनि चाखेको छ। अर्को महत्त्वपूर्ण त उनले भर्खरै गरेको सफलतातर्फको ‘कमब्याक’ले धेरैलाई व्यावसायिक पाठ पनि सिकाएको छ। एजेन्सीबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad