कारोबार


दुई महिनामा ३२ अर्बले थपियो निक्षेप, खस्किँदै कर्जा प्रवाह

दुई महिनामा ३२ अर्बले थपियो निक्षेप, खस्किँदै कर्जा प्रवाह

नेपालखबर
असोज २८, २०८२ मंगलबार १८:३, काठमाडौँ

चालू आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ३२ अर्ब माथिको निक्षेप थपिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड (०.५ प्रतिशत) ले बढी रु७२ खर्ब ९६ अर्ब ७४ करोड पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। 

वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३१.० प्रतिशत र ५६.७ प्रतिशत रहेको थियो।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ।

यस्तै कर्जामा भने चालू आवमा खास्सै बृद्धि देखिएको छैन। गत वर्ष साउन र भदौ महिनामा ७३ अर्ब ३९ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो भने चालू आवमा ४९ अर्ब २४ करोड(०.९ प्रतिशत) ले मात्रै बढाउन सफल देखिएका हुन्। यो सहित भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले  कुल ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह भएको पुगेको छ। 

वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.० प्रतिशत र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ।

२०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ।

२०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.२ प्रतिशत र ६६.२ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.० प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५ प्रतिशत, क्यास क्रेडिट कर्जा१.७ प्रतिशत, आवधिक कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.८ प्रतिशत र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad