कारोबार


नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो

नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो

फाइल फोटो


नेपालखबर
असोज २६, २०८२ आइतबार १७:२५, काठमाडौँ

नर्सरी व्यवसायी संघ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गर्ने भएको छ। तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धनको उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको सङ्घले जनाएको छ।

संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने किसिमले प्रचारप्रसार भइरहेको बताए। उनका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनसहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सिर्जनालाई यस एक्स्पोको प्रमुख उद्देश्य बनाइएको छ। 

‘वनस्पति र बोटबिरुवाको संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ। यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ’, संयोजक महर्जनले भने, ‘नर्सरी व्यापारिक गतिविधि नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय हो। वनजङ्गल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पुर्‍याउन नर्सरी व्यवसायीको योगदान छ।’

संघले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तरराष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ। साथै गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने सघले बताएको छ। 

संघले हालको राजनीतिक अनिश्चितता र अस्थिरताले व्यवसायी समुदायमा मनोबल कमजोर बनाएको भए पनि यस्तो परिस्थितिमा सबैपक्षले व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ। महर्जनले भने, ‘देशमा बढ्दो राजनीतिक अस्थिरताका कारण सिर्जिएको मनोवैज्ञानिक दबाबलाई कम गर्न व्यवसायीबीच सहकार्य र आत्मविश्वास बढाउनु जरुरी छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad