कारोबार


आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने, ४ जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान

यी ४ प्रदेशका तटीय क्षेत्र र यात्रुलाई सावधानी अपनाउन विभागको अनुरोध
आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने, ४ जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान

नेपालखबर
असोज १८, २०८२ शनिबार १२:३३, काठमाडौँ

आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्। 

‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ। यसले विशेष गरेर आज बेलुका ७–८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना छ’, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा उनले भने, ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।’ 

२४ घण्टामा २०० एमएल पानी पर्ने सम्भावना रहेको उनले बताए। 

विभागका अनुसार खासगरी बागमती र पूर्वी राप्ती नदीको वहाव उल्लेख्य बढ्ने देखिएको छ। यी दुईमा रेड अलर्ट नै जारी गरिएको छ। 

यसअनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लामा अतिउच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ। 

त्यसैगरी इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलुढंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरुमा उच्च जोखिमको सम्भचावना रहने पूर्वानुमान छ। 

अन्य धेरै जिल्लाहरुमा एल्लो अलर्ट जारी गरिएको छ। 

भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेश हुँदै बग्ने केही ससाना नदीमा वहाव आकस्मिक बढ्नसक्ने पूर्वानुमान रहेको उनले बताए। 

विभागका अनुसार २० गतेसम्म कोशी जलाधारका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दूधकोशी (रतुवाबजार), तामाकोशी (बुस्ती), सुनकोशी (हम्पचुवार)मा वहाव उल्लेख्य बढ्ने देखिएको छ। 

त्यसैगरी नारायणी जलाधारअन्तर्गत देवघाट, त्रिशूली (वेत्रावती), बूढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली), कालीगण्डकी (कुमालगाउँ)मा तीन दिनसम्म वहाव बढ्नेछ। 

यता कर्णाली जलाधारका कर्णाली (चिसापानी र असाराघाट), भेरी (समजिघाट), पश्चिम सेती (दिपायल)मा तीन दिन सामान्य वहाव बढ्ने विभागले पूर्वानुमान गरेको छ।                                                                                                                                          

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad