कारोबार


प्राधिकरण अध्यक्ष शर्माले सम्हाले कार्यभार, गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन

प्राधिकरण अध्यक्ष शर्माले सम्हाले कार्यभार, गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १५:३७, काठमाडौँ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन्। 

यसअघि, आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

नेपाल सरकार, मन्त्रिपरिषद्को असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो।

अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालयअन्तर्गत कार्यरत छन्।

आज प्राधिकरणमा कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए।

अध्यक्ष शर्माले भने, ‘हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानुनबमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ।’

अध्यक्ष शर्माले बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमै दाबी भुक्तानी दिनुपर्ने बताए। 

‘यसो भएमा बीमाप्रतिको विश्वास बढ्छ र बीमाको दायरा बढ्दै जान्छ, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जान्छ’, उनले थपे।

अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई  निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad