सरकारले मापदण्डविपरीत सञ्चालनमा आएका होटल तथा रेस्टुराँहरूमाथि कारबाही गर्ने भएको छ।
शुक्रबार काठमाडौंको अनामनगरमा होटल तथा रेस्टुराँमा अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरूले मापदण्ड विपरित चलेका होटल तथा रेस्टुराँहरूले आफूलाई १, २ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनीहरूले अनुगमनको क्रममा मापदण्ड विपरित खाद्य भण्डार गरेको, सरसफाईमा कमी रहेको औँल्याउँदै तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेस्टुराँ सञ्चालकहरूलाई निर्देशन दिएका थिए।
मापदण्ड विपरित चल्ने कुनैपनि होटल तथा रेस्टुराँहरूलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताए।
उनले अनुगमनको क्रममा किचनमा सफाईको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गरे।
खाद्य निरीक्षण अधिकारी पौडेलले भने, ‘किचनमा देखिएको कमी सुधार गर्नुस् भनेर निर्देशनसहित जानकारीमूलक कुराहरु गरेका छौँ। अब अर्को पटक आउँदा पनि यस्तो खालको अवस्था देखियो भने कारबाही हुन्छ भनेर सम्झाउने काम पनि भयो। मापदण्डअनुसार खानाहरूको भण्डारण गर्नुस, कमी सुधार गरेर २ देखि ३ दिन भित्र कार्यालय उपस्थित हुनु भनेर निर्देशन दिएर हामी गएका छौँ। आउनु भएन भने हामी फलोअप गरेर कारबाहीको प्रक्रियामा जान्छौँ।’
सरकारले दसैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर हरेक वर्ष अनुगमनको कामलाई तिब्रता दिने गरेको छ।
Shares

प्रतिक्रिया