डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ।
अब प्रयोगकर्ताहरूले क्यूएफएक्स सिनेमाजका चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ।
यो नयाँ प्रविधिले चलचित्रका पारखीहरूलाई घरमै बसीबसी वा जुनसुकै ठाउँबाट पनि मनपर्ने चलचित्रको टिकट काट्न अझै सहज बनाएको छ। अब ग्राहकले इसेवा एप खोलेरै, मनपर्ने सिनेमा हल र शो टाइम छान्न सक्नेछन्।
यस सहकार्यबारे बोल्दै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले यो सहकार्य नेपाली डिजिटल भुक्तानी र मनोरञ्जन उद्योग दुवैका लागि एउटा महत्त्वपूर्ण कदम भएको बताए।
‘हामी हाम्रा प्रयोगकर्ताहरूको सुविधालाई उच्च प्राथमिकता दिन्छौँ र यो नयाँ फिचरले चलचित्र प्रेमीहरूका लागि टिकट खरिदको अनुभवलाई अझै सरल र प्रभावकारी बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ। यो साझेदारीले डिजिटल नेपालको सपनालाई साकार पार्न पनि थप टेवा पुग्नेछ’, उनले भने।
त्यसैगरी, क्यूएफएक्सका महाप्रबन्धक तृप्ति गिरीले दर्शकलाई उत्कृष्ट सिनेमा अनुभव दिन प्रतिबद्ध रहेको बताइन्।
‘यो साझेदारी त्यसैको एक हिस्सा हो। इसेवासँगको सहकार्यले हाम्रा ग्राहकलाई टिकट खरिद गर्न अझै सहज हुनेछ, जसले गर्दा उहाँहरूले आफ्नो समय फिल्मको आनन्द लिनमा खर्च गर्न सक्नुहुनेछ। यसले नेपालको मनोरञ्जन उद्योगमा डिजिटल रूपान्तरणलाई थप गति दिनेछ’, उनले भनिन्।
कसरी गर्ने टिकट बुक?
- आफ्नो इसेवा एप खोल्नुहोस् ।
- होम स्क्रिनमा रहेको ‘मुभिज’ आइकनमा ट्याप गर्नुहोस् ।
- क्यूएफएक्स सिनेमा छान्नुहोस् ।
- आफूले हेर्न चाहेको चलचित्र, हल र शो टाइम रोज्नुहोस् ।
- खाली सिटहरूमा ट्याप गरी आफ्नो मनपर्ने सिट छान्नुहोस् ।
- अब “प्रोसिड“ बटन थिची भुक्तानी गर्नुहोस् ।
भुक्तानी सफल भएपछि तपाईंको टिकट माइ टिकेट्स भित्र एपमै प्राप्त हुनेछ ।
Shares

प्रतिक्रिया