नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनयता लगानीकर्ताको मनोबल घटेको बताएका छन्।
गत भदौ २४ गते आन्दोलनका क्रममा निजी र सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको उनको भनाइ छ।
नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा बोल्दै पाण्डेले कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत नोक्सान भएको जानकारी दिए।
‘उद्योगहरूमा कुल जीडीपीको ५ प्रतिशत असर पुुगेको छ, लगानीकर्ताका लागि लगानीको सुरक्षा महत्त्वपूर्ण कुरा हो, लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकारले काम गर्नुपर्छ। अब छिट्टै माथि उठ्नका लागि वित्त र मौद्रिक नीतिबाट केकस्तो सुविधा दिन सकिन्छ, सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक छ,’ उनले भने।
उनले अब अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे।
ठूला उद्योगका लागि एउटा निश्चित समय निर्धारण तोकेर सहुलियत दिनसक्नुपर्ने सुझाव उनको छ।
‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ, छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने।
उनका अनुसार अब शिक्षा प्रणालीलाई पनि सुधार गर्नु आवश्यक देखिएको छ।
‘शिक्षामा लगानी छ तर, त्यसको प्रतिफल कम छ। केकस्ता सुविधा दिएर काम गर्न सकिन्छ भनेर सल्लाह गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
उनले केही समयअघि ज्वाइन्ट भेन्चरका लगानी आउन लागेको जानकारी दिँदै जेनजी आन्दोलनले त्यो लगानी रोकएिको धारणा राखे।
उनले केही महत्त्वपूर्ण प्राथमिकताका क्षेत्र निर्धारण गरेर ती क्षेत्रमा काम गर्न जरुरी रहेको सुनाए।
उनले ऊर्जा, पर्यटन, शिक्षा र कृषि लगायतका क्षेत्रमा अब काम गर्न आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया