भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबाट पुगेको क्षतिउपर २२ अर्बमाथिको बिमा दाबी परेको छ।
आइतबारसम्म बिमितहरुले २२ अर्ब २५ करोड बराबरको क्षतिपूर्ति माग गरेका हुन्।
नेपाल बिमा प्राधिकरणका अनुसार क्षति भएका निजी सम्पत्ति तथा व्यवसायीहरुले २ हजार ४७८ वटा बिमालेखबाट २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ दाबी माग गरेका हुन्।
जेनजी प्रदर्शनबाट नेपाल ठूला व्यवसायहरुमा ठूलो क्षति पुगेको थियो। काठमाडौँको पाँच तारे चेन होटल हिल्टनमै ८ अर्ब बराबरको क्षति पुगेको थियो भने भाटभटेनी सुपर स्टोर, सीजीलगायतका थुप्रै कर्पोरेट हाउसहरुमा क्षति पुगेको थियो।
जसबाट लघुबिमासहित १८ वटा निर्जीवन बिमा कम्पनीहरुमा २२ अर्बमाथिको दाबी परेको हो। यसको अर्थ बिमा कम्पनीहरुले क्षति पुगेका बिमितहरुलाई उक्त रकम फिर्ता दिनुपर्ने भन्ने हो।
आइतबारसम्मको विवरणमा सबैभन्दा धेरै बिमा दायित्व दि ओरियन्टल इन्स्योरेन्समा छ। यो इन्स्योरेन्समा ५ अर्ब २२ करोड बराबरको ७३ वटा बिमादाबी परेको छ।
त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर छ। यसमा ५ अर्ब बराबरको २७९ वटा दाबी पर्दा आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोडको १७० वटा दाबी परेको छ।
जेनजी प्रदर्शनबाट शिखर इन्स्योरेन्मा पनि २ अर्ब ३९ करोडबराबरको ३७४ वटा बिमा दाबी माग हुँदा सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्समा १ अर्बमाथिको दाबी परेको छ। सानिमा जीआईसी, युनाइटेड अजोड, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी, प्रभु इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा करोडमा दाबी माग गरेको हो। जसमा सानिमा जीआईसीमा मात्रै ८१ करोड माथिको बिमादाबी परेको हो।
योबाहेक स्टार माइक्रो, ट्रष्ट माइक्रो र नेपाल माइक्रोमा भने थोरै दाबी परेको छ। यी कम्पनीहरुमा क्रमशः ७२ लाख, ४४ लाख र ४१ लाख बराबरको दाबी परेको हो।
बागमती र कोशीमा सबैभन्दा धेरै
प्राधिकरणका अनुसार बागमती प्रदेश, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै दाबी परेको छ। बागमतीमा मात्रै १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँबराबरको १ हजार ३४३ वटा बिमा दाबी पर्दा कोशी प्रदेशमा १ अर्ब ६५ करोडको ३ सय २२ वटा दाबी परेको हो।
गण्डकीमा भने १ अर्ब २९ करोड रुपैयाँबराबरको १८४ वटा दाबी पर्दा मधेश प्रदेशमा ५५ करोड बराबरको २४६ वटा, लुम्बिनी प्रदेशमा ४५ करोड बराबरको २०२ वटा, सुदूरपश्चिम प्रदेशमा २३ करोड बरबारको १५९ वटा र कर्णाली प्रदेशमा ८ करोड ९३ लाख बराबरको २२ वटा बिमादाबी परेको हो।
सम्पत्ति बिमापछि मोटर बिमामा धेरै
सम्पत्ति बिमापछि सबैभन्दा धेरै मोटर बिमामा दाबी परेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बिमाअन्तर्गत १८ अर्ब ६१ करोड बराबरको ५३८ वटा दाबी पर्दा मोटर बिमातर्फ २ अर्ब ९५ करोड बराबरको १ हजार ७७८ वटा बिमादाबी परेको हो।
योबाहेक इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ३३ करोड, परिवहन बिमामा १ करोड र अन्य बिमामा ३४ करोड बराबरको दाबी परेको छ।
Shares

प्रतिक्रिया