कारोबार


बक्यौता उठाउने कुलमानको पहिलो निर्णय कार्यान्वयनमा जाने, हितेन्द्र भन्छन्– मन्त्रीज्यूको निर्णय मान्छौँ

बक्यौता उठाउने कुलमानको पहिलो निर्णय कार्यान्वयनमा जाने, हितेन्द्र भन्छन्– मन्त्रीज्यूको निर्णय मान्छौँ

नेपालखबर
असोज ५, २०८२ आइतबार १४:६, काठमाडौँ

अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ ।

कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए। सोही निर्णयलाई कार्यान्वयनमा लैजान चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका हुन्।

उनका अनुसार सोमबार/मंगलबार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ। सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने समेत बताएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘बक्यौतासम्बन्धी जुन मन्त्रीज्यूको निर्णय छ। यसलाई हामीले कार्यान्वयन गर्छौं। विद्युत् प्राधिकरणको मन्त्रीज्यू नै अध्यक्ष हुने व्यवस्था छ। बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौँ। बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं। बोर्डमा मन्त्रीज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ। भोलि अथवा पर्सि बोर्ड बैठक बस्छ।’ 

बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत बताए। कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटकपटक विद्युत वक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए। तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ ।

प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ ।

उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad