ad ad

कारोबार


वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

वाणिज्य बैंकले घटाए कर्जाको ब्याजदर

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ९:५४,

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ। गत आवमा त्यस्तो कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकको विवरणअनुसार गत आवको तुलनामा चालु आवको आठ महिनाको तुलनामा कर्जाको भारित औसत ब्याजदर घटेको पाइएको हो । बैंकका अनुसार २०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ ।

गत फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेका थिए।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् गत फागुन मसान्तसम्म कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जररप्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १४२ संस्थाको इजाजत खारेज भई कुल ४५ संस्था कायम भएको छ । बैंकका अनुसार गत फागुनसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । त्यस आधारमा अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।

प्रदेश नं १ का कुल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अब एक स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । प्रदेश नं २ र प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । प्रदेश नं २ मा कुल १३६ स्थानीय तह छन् भने प्रदेश नं ५ मा कुल १०९ स्थानीय तह छन् । यस्तै वाग्मती प्रदेशका कुल ११९ स्थानीय तहमध्ये ११७ मा वाणिज्य बैंकका शाखा खुलेका छन् । सङ्घीय राजधानीसमेत रहेको सो प्रदेशमा अब दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । गण्डकीका कुल ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब एक स्थानीय तहमा शाखा खुल्न बाँकी छ । सुदूरपश्चिम प्रदेशका कुल ८८ मध्ये ८६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । अब दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छ ।

हाल कुल २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक छन्। बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या गत असार मसान्तमा आठ हजार ६८६ रहेकोमा त्यो बढेर गत फागुन मसान्तमा नौ हजार ६४० पुगेको छ ।

उत्पादनशील उद्योग तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा गत फागुन मसान्तमा रु १८ अर्ब ३८ करोड पुगेको छ । यस्तै साधारण पुनरकर्जा १५ अर्ब ८३ करोड र निर्यात पुनरकर्जा एक अर्ब एक करोड उपयोग भएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता गत फागुन मसान्तमा रु एक अर्ब ५३ करोड रहेको छ । यस्तो कर्जा कुल एक हजार ५९२ ऋणीले उपयोग गरेका छन् ।

चार अर्ब ६९ करोड सेयर सूचीकृत
बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत फागुन मसान्तसम्ममा सूचीकृत चार अर्ब ६९ करोड सेयर सूचीकृत रहेको छ । सो सूचीकृत सेयरको चुक्ता मूल्य ४ खर्ब ५९ अर्ब ४९ करोड रहेको छ ।

यस्तै चालू आवको आठ महिनामा २५ अर्ब ५५ करोडबराबरको सेयर लाभांश, २१ अर्ब ४६ करोडबराबरको ऋणपत्र, १२ अर्ब १६ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोडबराबरको सामूहिक लगानी कोष चार अर्ब ११ करोड बराबरको हकप्रद सेयर र ११ अर्ब ८३ करोड बराबरको अन्य गरी कुल रु ८० अर्ब ८६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

सो अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ४५ करोडबराबरको ऋणपत्र चार अर्ब ४१ करोडबराबरको हकप्रद सेयर, दुई अर्ब ७५ करोडको साधारण सेयर र एक अर्बको सामूहिक लगानी कोष गरी रु २९ अर्ब ६२ करोडबराबरको धितोपत्र निष्काशन गर्ने अनुमति दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .