केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ।
कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ। कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन।
अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताए। अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौँबाट भने रित्तै फर्किएको छ।
श्रीको सिंगापुर उडान बिहीबार सर्यो
यसैबीच स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको चार्टर्ड जहाज मंगलबार सिंगापुर उडान भर्ने तालिका रहे पनि उडान हुन सकेन।
श्रीको जहाज आगामी बिहीबार सिंगापुर उड्ने कम्पनीले जनाएको छ। यसअघि गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो। पुनः मङ्गलबारका लागि उडान तालिका थियो तर अन्तिम समयमा उडान रोकिएको छ। केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले आज उडान हुन नसके पनि बिहीबार उडान हुने श्री एयरलाइन्सले जनाएको छ।
निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन लागेको हो। श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको हो। श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो। रासस
Shares
प्रतिक्रिया