कारोबार


मौलाकाली केबलकार फेरि चाँडै सञ्चालनमा आउने

मौलाकाली केबलकार फेरि चाँडै सञ्चालनमा आउने

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १२:४६, काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडमा परेको नवलपरासीको मौलाकाली केबलकारले चाँडै सेवामा फर्किने जनाएको छ।

कम्पनीले हजारौँ स्थानीय सेयरधनीहरुको संयुक्त लगानी र मिहिनेतको जगमा बनेको भन्दै फेरि सेवा सुचारु गर्ने घोषणा गरेको हो। 

कम्पनीले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

‘दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका  घटनामा  परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको यस मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठुलो  क्षति हुन पुगेको छ’, कम्पनीले भनेको छ, ‘गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो  मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक हो।’ 

देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।  त्यसैले यहाँ भएको तोडफोड र आगजनीले केवल हाम्रा स साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीय बासिहरु, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको कम्पनीले उल्लेख गरेको छ।

तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा  सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गरेका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ। 

‘यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन्। हामी सबैले हातेमालो गरी  छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने सङ्कल्प गर्दछौँ’, कम्पनीले उल्लेख गरेको छ, ‘हाम्रो यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad