कारोबार


तनहुँको बन्दीपुरमा केबलकार निर्माण सुरु

तनहुँको बन्दीपुरमा केबलकार निर्माण सुरु

नेपालखबर
असार २३, २०७६ सोमबार ८:४८,

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण सुरु भएको छ। केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन आज शिलान्यास गरेका हुन्।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा रु १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन १५ महीनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए। उक्त लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा रु एक अर्ब ३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण निर्माण गर्न लागिएको छ।

केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ। रु ८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए।

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ।

रु ५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको उनको भनाइ थियो।

ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन्। विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ। ठूल्ढुङ्गा स्वाँराबाट शुरू हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad