कारोबार


स्वार्थ समूहको इसारामा सेयर बजार बन्द, कर्तुत ढाकछोप गर्ने दाउमा सन्तोषनारायण

‘थर्मल गन ग्याङ’ र ‘स्टुडेन्ट फर फ्री तिब्बत’सँग ‘हामी नेपाल’को सम्बन्धले निम्त्याउन सक्छ भूराजनीतिक संकट
स्वार्थ समूहको इसारामा सेयर बजार बन्द, कर्तुत ढाकछोप गर्ने दाउमा सन्तोषनारायण

कुबेर चालिसे
भदौ ३०, २०८२ सोमबार २२:३०, काठमाडौँ

केही लोभीपापी लगानीकर्ताको स्वार्थ पूरा गर्न करिब २ साता सेयर बजार बन्द गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले अन्य लगानीकर्ताहरूको विरोधपछि आफ्नो गलत कदम ढाकछोप गर्ने कोसिस थालेका छन्। त्यसका लागि भदौ ३१ गते मंगलबार बिहान बोर्ड बैठक बोलाएर आफ्नो निर्णय पास गराउने उनको तयारी छ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै आन्दोलन साम्य भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ दिन सेयर बजार कारोबार बन्द गराएर लगानीकर्ताको सम्पत्ति बन्धक बनाएको छ।

भदौ २३ गतेको जेन–जी आन्दोलनले असहज परिस्थिति सिर्जना गरेको भन्दै धितोपत्र बोर्डले २७ गतेको निर्णयअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई भदौ २९ गतेदेखि असोज २ गतेसम्मका लागि बजार बन्द गर्न निर्देशन दिएको थियो। त्यसैले नेप्सेले सेयर बजार बन्द गर्ने निर्णय गरेको थियो।

त्यसअनुसार असोज २ गते बिहीबार परेको तथा ३ गते शुक्रबार र ४ गते शनिबार परेको कारण सेयर बजार असोज ५ गतेदेखि मात्र सञ्चालन हुन्छ। यसरी धितोपत्र बोर्डले केही लगानीकर्ताको स्वार्थमा बजार घट्छ भनेर लगातार ८ दिन बजार बन्द गराएको छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड घले विशेष अधिकारअन्तर्गत ५ दिनसम्म बजार बन्द गर्न सक्ने अख्तियार दिएको छ। जसअनुसार धितोपत्र बोर्डले भदौ २७ गते आन्दोलन मत्थर भइसकेपछि सूचना निकालेर भदौ २९ देखि असोज २ गतेसम्म ५ दिनको लागि बजार बन्द गराएको हो।

त्यसभन्दा अघि आन्दोलन चर्केपछि नेपाल स्टक एस्कचेन्ज (नेप्से)ले हरेक दिन बिहान धितोपत्र बोर्डलाई जानकारी गराएर सूचीकरण तथा कारोबार नियमावली अन्तर्गत सूचना निकाल्दै भदौ २४, २५ र २६ गते अर्थात् मंगलबार बुधबार तथा बिहीबारको कारोबार बन्द गरेको थियो।

तर, आन्दोलनपछि स्थिति सामान्यीकरण हुन थालिसकेपछि एकाएक केही लोभी लगानीकर्ताको लहलहैमा लागेर सेयर बजारमा पहिरो जाला भन्ने अन्दाजमा धितोपत्र बोर्डले भदौ २७ गते सूचना निकालेर ५ दिनको लागि सेयर बजार बन्द गरेको हो।

नेपालको इतिहासमा बजार बन्द भएको यो पहिलो पटक नभए पनि धितोपत्र बोर्डमा स्वार्थ समूह यसरी हाबी भएको यो पहिलो पटक हो। हुन त धितोपत्र बोर्डमा श्रेष्ठको नियुक्ति नै थर्मल गन ग्याङ भनिने बदनाम स्वार्थ समूहले गराएको हो। त्यसैले उनीहरूको स्वार्थमा श्रेष्ठले काम गर्नु अनौठो होइन। तर केही लोभीपापी स्वार्थ समूहद्वारा परिचालित लगानीकर्ताको लागि सेयर बजार बन्द गरेर श्रेष्ठले लाखौँ लगानीकर्ताको सम्पत्ति बन्धक बनाइदिएका छन्।

यसअघि कारोना महामारीका बेला ३ महिना सेयर बजार बन्द भएको थियो। तर धितोपत्र बोर्डको आनाकानीका बीच नेप्सेको जोडबलले बजार खुलेपछि सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको थियो।

त्यस्तै, भूकम्पको बेला पनि सीडीएसको भवन क्षतिग्रस्त हुँदा वैशाख १२ गतेदेखि जेठ १० गतेसम्म एक महिना कारोबार राफसाफ गर्न समस्या परेका कारण बजार बन्द भएको थियो।

तर, यसपटक कुनै प्राविधिक तथा अन्य कुनै समस्या नभए तापनि विशुद्ध स्वार्थ समूह हाबी भएका कारण ८ कारोबार दिन दिन बजार बन्द भएको छ। त्यसमा पनि आन्दोलन शिथिल भएपछि स्थिति सामान्यीकरण भएको बेला पछिल्लो ५ दिन सेयर कारोबार बन्द गर्नुमा बोर्ड अध्यक्ष श्रेष्ठ र थर्मल गन ग्याङजस्ता स्वार्थ समूहको गठजोड कारण भएको बोर्डका कर्मचारी बताउँछन्।

यसै पनि सेयरको प्राथमिक निस्कासन (आईपीओ)का लागि कमिसन मागेर बोर्डलाई बदनाम गरेको, कर्मचारीको वृत्तिविकासमा ध्यान नदिएको जस्ता कारणले बोर्डका कर्मचारीहरू अध्यक्ष श्रेष्ठ विरुद्ध आन्दोलित छन्। त्यसमाथि अनावश्यकरूपमा सेयर बन्द गराएपछि लाखौँ लगानीकर्ता पनि रुष्ट भएका छन्।

बोर्डका अध्यक्ष श्रेष्ठले थर्मल गन ग्याङजस्ता केही स्वार्थी लगानीकर्ताको योजनामा सम्पूर्ण लगानीकर्ताको सम्पत्ति बन्धक बनाउन मद्दत गरेको भन्दै विरोध गरेपछि नेप्सेले सोमबार बोर्डलाई कारोबार बुधबारदेखि सुरु गराउन अनुरोध गर्दै पत्राचार गरेको छ।

सेयर बजार बन्द हुँदा लगानीकर्ताको सम्पत्ति बन्धक बनेको छ र सेयर खरिद–बिक्री गर्न नपाएपछि लगानीकर्ताले परिस्थिति सामान्य भइसकेकोले तत्काल बजार खोल्नुपर्ने माग गर्दै आएका छन्। सेयर खरिद–बिक्री लगानीकर्ताको मौलिक अधिकार भएकाले यसलाई रोक्नु अनुचित कदम हो भन्दै उनीहरूले दबाब दिन थालेका छन्।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आइसकेको तथा परिस्थिति समान्यीकरण भैसकेको अवस्थामा पुँजी बजार बन्द हुनु दुर्भाग्यपूर्ण भएको भन्दै बजार घट्ने अफवाहका आधारमा केही स्वार्थ समूहको फाइदाको लागि लगानीकर्ताले आफ्नो सेयर बेचेर नगद निकाल्ने अवस्था बन्द गरिदिएको उनीहरूको आरोप छ।

यसै मेसोमा नेप्सेलाई कारोबार गर्न के समस्या छ भनेर सोध्दा धितोपत्र बोर्डबाट निर्देशन पाए बुधबारबाटै कारोबार सुरु गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।

सोमबार आफ्नो पदबहाली गर्दै अर्थमन्त्री रामेश्वर खनालले आफनो मन्तव्यको क्रममा सर्वसाधारण जनतालाई अर्थ मन्त्रालयका निकायले प्रत्यक्ष सेवा नदिने तर बैंकिङ क्षेत्र, नेपाल धितोपत्र बोर्ड, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयबाट सर्वसाधारणलाई सेवा दिने बताएका थिए। सर्वसाधारण सेवा दिने बताइएको नेपाल धितोपत्र बोर्ड थर्मल गन ग्याङजस्ता केही स्वार्थ समूहको इसारामा चल्न थालेपछि नियुक्ति भएदेखि नै बोर्ड अध्यक्ष श्रेष्ठ विवादमा छन्।

उनीमाथि नेप्सेलाई डुबाएर दोस्रो स्टक एक्सचेन्ज ल्याउन लागेको तथा आईपीओ स्वीकृतिको लागि जलविद्युत प्रवर्द्धकहरूसँग कमिसन मागेको आरोप सेलाउन नपाउँदै अख्तियारमा पनि उजुरी परेको छ। अख्तियारमा आईपीओ स्वीकृतिको लागि कमिसन मागिएको तथा उनको कार्यानुभव नपुगेको बारेमा उजुरी परेको थियो। उनको कार्यानुभवको बारेमा अख्तियारको प्रश्नको उत्तर अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ।

अर्थतन्त्रमा विकृति नल्याउन निजी क्षेत्रका नाममा थर्मल गन ग्याङजस्ता बिचौलिया समूह सक्रिय रहँदा बजारले स्वतन्त्र र निष्पक्ष तथा प्रतिस्पर्धात्मक अभ्यास गर्न पाएको छैन।

यसैबीच, नेपालमा एउटा पनि योग्य र अनुभवी मान्छे नै नभए झैँ नियामक निकायहरूमा भएका पछिल्ला विवादास्पद नियुक्तिमा धेरै खेलोफड्को गर्ने थर्मल गन ग्याङ र जेनजी आन्दोलनको जस लिँदै सरकार निर्माणमा संलग्न देखिएको ‘हामी नेपाल’को सम्बन्ध नेपालको घोषित नीतिविरुद्ध स्वतन्त्र तिब्बत अभियानमा सक्रिय ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’सँग पनि देखिएको छ।

नेपालमा सामाजिक काम गर्ने संस्थाको रूपमा दर्ता भएर राजनीतिक गतिविधिमा संलग्न हामी नेपाल संस्थाको सम्बन्ध थर्मल गन ग्याङसँग भएको भारतीय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ प्रसारण गरिरहेका छन्। यसबाट नेपालमा भूराजनीतिक संकट उत्पन्न हुने अड्कल पनि गरिएको छ। किनकि भ्रस्टाचार विरोधी आन्दोलन गरेको जेनजीको नेतृत्व दाबी गरेको हामी नेपालको सम्बन्ध आर्थिक र सत्ता शक्तिको दुरूपयोग गर्दै आएको थर्मल गन ग्याङ र ‘स्टुडेन्ट फर अ फ्री तिब्बत’सँग हुनु संयोग होइन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad