कारोबार


चीनको त्रैमासिक जीडीपीमा कीर्तिमानी गिरावट, ३ करोड रोजगारी गुम्न सक्ने

चीनको त्रैमासिक जीडीपीमा कीर्तिमानी गिरावट, ३ करोड रोजगारी गुम्न सक्ने

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ८:४४,

चीनको सन् २०२० को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ऐतिहासिक गिरावट आएको छ।

विश्व महामारी कोरोनाका कारण कलकारखाना र शपिङ मलहरु बन्द भएपछि लाखौँ मानिसहरु कामविहीन हुँदा जीडीपी घटेको रोयटर्सले जनाएको छ।

वर्षगत तुलनामा जीडीपी ६.८ प्रतिशतले घटेको हो। ६.५ प्रतिशतले जीडीपी घट्ने विश्लेषकहरुको अनुमानभन्दा बढीले घटेको समाचारमा जनाइएको छ। सन् २०१९ को चौथो त्रैमासिकमा भने ६ प्रतिशतले बढेको थियो। यो सन् १९९२ यताकै ठूलो गिरावट हो। मार्च महिनामा कलकारखाना क्षेत्रको उत्पादन अनुमान गरिएभन्दा बढीले घटेको छ। तर अर्थतन्त्रलाई मद्दत गर्न घोषणा गरिएका राहत प्याकेज र कदमहरुले भने सहयोग गरिरहेको छ। चिनियाँ अर्थशास्त्रीहरुले भने यो दर अनुमानभित्र नै रहेको दाबी गरेका छन्।

त्रैमासिक आधारमा भने तुलनात्मक रुपमा जीडीपी गिरावट दर ९.८ प्रतिशत रहेको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले जनाएको छ। यसअघिको त्रैमासिकमा भने १.५ प्रतिशतले वृद्धि भएको थियो। ब्युरोले ९.९ प्रतिशतले घट्ने अनुमान गरेको थियो। उपभोक्ता मागमा कमी आउनुलाई मुख्य कारण मानिएको छ। त्यस्तै अर्को त्रैमासिकमा पनि ठूलो गिरावटको आँकलन भएको रोयटर्सले जनाएको छ।

औद्योगिक क्षेत्रमा भने अनुमान गरिएभन्दा कम १.१ प्रतिशत गिरावट आएको बताइएको छ। तर खुद्रा बिक्री १५.८ प्रतिशतले घटेको छ। यो पनि अनुमानितभन्दा निकै बढीको गिरावट हो। चीनको सहरी बेरोजगारी दर फेब्रुअरीको ६.२ प्रतिशतबाट मार्चमा ५.९ प्रतिशतमा झरेको छ। विश्लेषकहरुले यो वर्ष चीनमा ३ करोड रोजगारी गुम्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad