कारोबार


भेपको अवैध कारोबारमा सिल्क ग्रुप, अध्यक्ष शेर्पासहित १२ जनाविरुद्ध पौने २ अर्बको मुद्दा

भेपको अवैध कारोबारमा सिल्क ग्रुप, अध्यक्ष शेर्पासहित १२ जनाविरुद्ध पौने २ अर्बको मुद्दा

नेपालखबर
भदौ १, २०८२ आइतबार १८:३८, काठमाडौँ

राजस्व अनुसन्धान विभागले सिल्क ग्रुप र यसका अध्यक्ष रमेश शेर्पासहित १२ जनालाई अवैध भेप कारोबार गरेको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। 

भन्सार छलेर गोदाममा राखिएको अवस्थामा ८६ हजार ४ सय थान इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेपछि अनुसन्धान गरेको विभागले १० जनालाई मुख्य प्रतिवादी र महेश प्रसाद पाठकसहित दुई जनालाई मतियार कायम गरी २९ गते मुद्दा दायर गरेको हो। 

विभागको टोलीले महालक्ष्मी नगरपालिका ४ शीतलहाइटमा रहेको गोदामबाट उक्त भेप बरामद गरेको थियो। उक्त भेप चोरी पैठारीमा ग्रुप अध्यक्ष रमेश शेर्पा र विजय शेर्पाको मुख्य भूमिका रहेको विभागले जनाएको छ। अवैध कारोबारमा ग्रुपअन्तर्गतका ७ वटा कम्पनीहरु संलग्न रहेको पाइएको छ। 

भन्सार चोरी गरी राजस्व चुहावट कसुर गरेको तथ्य स्थापित भएको विभागले जनाएको छ। उक्र ग्रुप र यसअनुसारका ५ कम्पनीले मौज्दातमा रहेको ३८ हजार ९ सय २४ थान भेप बिल बीजक जारी नगरी बिक्री गरेको समेत विभागको भनाइ छ। 

ग्रुपले कुल ३ लाख १६ हजार ३ सय १५ थान भेपको स्थानीय खरिद गरेको नक्कली कारोबार देखाएको समेत पाइएको छ। 

विभागले प्रतिवादीहरुविरुद्ध जम्मा ८७ करोड ३१ लाख २३ हजार ८ सय २८ रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट ऐनअनुसार बिगोको शतप्रतिशत जरिवाना समेत गरी कुल १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार ६ सय ५७ रुपैयाँ मागदाबी गरेको छ। त्यसैगरी १० जनालाई हदैसम्मको कैद र मतियारहरुलाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय हुन माग गर्दै अभियोगपत्र दायर गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad