कारोबार


हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

नेपालखबर
साउन २०, २०८२ मंगलबार १४:१, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन्।

नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिनु हुँदै मन्त्री खड्काले सो कुरा बताउनु भएको हो। मन्त्री खड्काले भने, ‘सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिँचाइ गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिंचित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु।’

उनले विद्युतको आवश्यकता बढ्दो रहेको, आपूर्तिको माग पनि उच्च रहेको तर त्यसको सम्बोधन हुन नसकेको गुनासो आएको बताए। 

‘अब तीव्र गतिमा काम गर्ने बेला आएको छ’, उनले भने, ‘सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ।’

दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए।

स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी जलविद्युतमा जति अगाडि बढ्दैछौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो। जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरवलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए।

उनले स्पष्ट गरे, ‘हामीले स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौं, कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल गर्न सरकार तयार छ।’

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले गरेका थिए। उनले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता माथि प्रकाश पार्दै भने, ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ।’

कार्यक्रममा ऊर्जा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधि, विद्युत प्राधिकरणका पदाधिकारी, विज्ञहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रजत जयन्ती समारोहमा ऊर्जामन्त्री खड्काले संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिका विमोचन गर्नुका साथै संघका संस्थापक पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। सौर्य ऊर्जा प्रवर्द्धनमा योगदान पुर्‍याएका कम्पनीहरूलाई कदरपत्र प्रदान गरिएको कार्यक्रममा सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad