कारोबार


मर्मतको डेढ साता नबित्दै बाढीले बगायो स्याप्रुबेसी–रसुवागढी सडक, यातायात खुलाउन ‘रक ब्लास्टिङ’को योजना

मर्मतको डेढ साता नबित्दै बाढीले बगायो स्याप्रुबेसी–रसुवागढी सडक, यातायात खुलाउन ‘रक ब्लास्टिङ’को योजना

फाइल तस्बिर


निर्दोष घोरसाइने
साउन १४, २०८२ बुधबार १६:१, काठमाडौँ

असार २४ को बाढीले पुर्‍याएको क्षति मर्मत गरेर सञ्चालनमा आएको डेढ साता नबित्दै स्याप्रुबेसी–रसुवागढी सडक मंगलबार रातिदेखि पुनः अवरुद्ध भएको छ।

ल्हेन्दे खोलामा आएको बाढीले उक्त सडक खण्डका केही भाग बगाएको गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेसी–रसुवागढी सडक योजनाका इन्जिनियर गजेन्द्रराज जोशीले नेपालखबरलाई जानकारी दिए।

योसँगै चीनसँगको व्यापारिक सीमा नाका रसुवागढी पुग्ने सडक यातायात ठप्प भएको छ। असारको बाढीले क्षति पुर्याएको सडक आंशिक मर्मत गरेर रसुवागढीसँगको सडक सम्पर्क जोडिएको थियो। तर हालको बाढीले पुनः रसुवागढीसँगको सडक यातायात विच्छेद भएको छ। 

उक्त सडक योजनाका इन्जिनियर जोशीले असारमा जस्तै हालको बाढीले उक्त खण्डमा ठूलो भौतिक क्षति पुर्याएको बताए। बाढी र पहिरोका कारण स्याप्रुबेसी–रसुवागढी खण्डको सडक आंशिक तथा पूर्ण रुपमा बगेको उनले जानकारी दिए। 

‘हाल सडक पूर्णरुपमा अवरुद्ध छ। यातायात सञ्चालन हुन सक्ने अवस्थामा छैन’, उनले भने, ‘सडक खुलाउने प्रयास भइरहेको छ। दुईवटा मेसिनले काम गरिरहेको छ। मेसिनबाट हुन नसक्ने काम नेपाली सेनासँग समन्वय गरेर गर्नुपर्ने हुन्छ।’

केही ठाउँमा ब्लास्टिङ नै गर्नुपर्ने 
जोशीका अनुसार केही स्थानमा सडक कटान गरेर बाढीले चट्टान छोएको छ। त्यस्ता क्षेत्रमा मेसिनको मात्र भर पर्दा धेरै समय लाग्ने उनको भनाइ छ। 

सडक छिटो सञ्चालनमा ल्याउन ब्लास्टिङ गर्नुपर्ने देखिएको उनले बताए। 

योसँगै सडक विभागले नेपाली सेनासँग समन्वय गरेर त्यस्ता कठिन भुभागमा ब्लास्टिङ गर्ने योजना बनाएको छ। 

‘ब्लास्टिङ नगरी मेसिनबाट काम गर्दा सडक सञ्चालनमा ल्याउन ७/८ दिन लाग्छ’, उनले भने।

यसअघि असार २४ गतेको बाढीले क्षति पुर्याएको सडक आंशिक मर्मत गरेर साउन ४ गतेदेखि सञ्चालनमा ल्याएको थियो। हाल पुनः बाढी आउँदा यस क्षेत्रमा पुनः सडक यातायात अवरुद्ध बनेको हो।

कहाँ कति क्षति? 
मंगलबारको बाढीबाट स्याप्रुबेसी–रसुवागढी सडक खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ।

इन्जिनियर जोशीका अनुसार वाढीबाट चिलिमे पावरहाउसको पुल (चेनेज ०+०००) बाट करिब ५ किमि दूरीको सडकको सबै सडक चौडाइ कटान गरेको छ। यस क्षेत्रलाई रसुवाको मदाङ बुदुङ भनिन्छ। यहाँबाट करिब १ किमि पर कुलुङ पुल छ। यस पुलनजिकै पनि बाटोमा आंशिक रुपले क्षति पुगेको छ।  

लिङलिङे क्षेत्रको सडक पनि कटानमा परेको छ। यस्तै तातोपानीनजिकै रहेको रसुवागढी पावर हाउस आसपासको सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ। यस स्थानमा करिब सयदेखि डेढ सय मिटर सडक कटान भएको उनले जानकारी दिए। 

यसबाहेक टिमुरे उकालोमा पनि आधाभन्दा बढी सडक बगाएको छ। घट्टे खोला क्षेत्रमा पनि पूर्ण रुपमा बाटो कटान भएको छ। नेपाली सेनाको श्रीनाथ गण आसपासको क्षेत्रमा पनि आधाभन्दा बढी सडक खोलाले बगाएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad