कारोबार


रसुवागढी नाकाबाट नेपाल–चीन व्यापार सञ्चालनमा आउन अझै २ महिना लाग्ने

ल्हेन्देखोलाको बाढीले रसुवागढी पुग्ने सडक फेरि अवरुद्ध
रसुवागढी नाकाबाट नेपाल–चीन व्यापार सञ्चालनमा आउन अझै २ महिना लाग्ने

गत असारको बाढीपछिको फाइल तस्बिर


निर्दोष घोरसाइने
साउन १४, २०८२ बुधबार १३:४१, काठमाडौँ

नेपाल र चीन मुख्य व्यापारिक नाका रसुवागढी–केरुङ सञ्चालनमा आउन अझै करिब दुई महिना लाग्ने भएको छ। 

गत असार २४ गतेको बाढीका कारण रसुवागढी–केरुङ जोड्ने मितेरी पुल बगाउँदा यो नाकाबाट हुने व्यापारिक सम्बन्ध टुटेको थियो। 

ल्हेन्देखोलामा बनेको मितेरी पुलमार्फत रसुवागढी–केरुङ सडक सञ्जालबाट जोडिएको थियो। पुल बगेसँगै सडक सम्पर्क टुटेको हो। 

पुनः सडक सञ्जालमार्फत रसुवागढी–केरुङ व्यापार सम्बन्ध अघि बढाउन चिनियाँ पक्षले अस्थायी रुपमा बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइसकेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मंगलबार सडक विभागका अधिकारीसहित गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेसी–रसुवागढी सडकको निरीक्षणमा गएका थिए।  

बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गर्ने क्रममा चीनले आफ्नो सीमा तर्फबाट बेलिब्रिज निर्माण प्रक्रिया अघि बढाइरहेको पाइएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

रसुवागढीमा अनुगमनका क्रममा पुगेका भौतिकमन्त्री दाहाल।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौंस्थित चिनियाँ राजदूतावासबीच भएको समझदारीमा चीन सरकारले आफ्नै लगानीमा बेलिबिज्र बनाउने प्रतिबद्धता जनाएको थियो।

सरकारबाट स्वीकृति लिएर गत साउन ११ गतेदेखि नै चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गरिसकेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। 

‘बेलिब्रिज निर्माण सुरु गर्नु एक दिनअघि रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोली र चीनका समकक्षीबीच निर्माणस्थलबाटै भर्चुअल बैठकसमेत भएको थियो’, उनले भने, ‘उक्त बैठकमा उद्धार, राहत एवं पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको थियो। बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्न स्थानीय प्रशासनबाट उपयुक्त कार्यवातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त भएको छ।’

चिनियाँ पक्षले दुई महिना (भदौ ३० गते) भित्रमा बेलिब्रिज निर्माणसम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। खोलामा बाढीको बहाव घटेमा निर्माण कार्य अझ छिटो सकिने बताइएको छ। नदीको वहावका कारण निर्माण कार्य अपेक्षा अपेक्षाकृति रुपमा अघि बढ्न सकेको छैन। 

रसुवागढी–स्याप्रुबेसी–गल्छी सडक मंगलबारदेखि फेरि अवरुद्ध 
असार अन्तिम साताको बाढीको कटानबाट अवरुद्ध रसुवागढी–स्याफ्रुवेशी सडक मार्ग मर्मत तथा पुननिर्माणपछि गत साउन ४ गतेदेखि सञ्चालनमा आए पनि मंगलबार रातिदेखि पुनः अवरुद्ध भएको छ।

‘मर्मतपछि सडक निर्बाध सञ्चालनमा थियो। अधिकांश स्थानमा दुईतर्फी नै सडक सञ्चालनमा ल्याउन सकिएको थियो’, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा सुई सुभराज न्यौपानेले भने।

तर मंगलबार रातिको बाढीले पुनः कटान गरेको सडक योजनाका इन्जिनियर रुपनारायण पौडेलले जानकारी दिए। 

‘तटीय क्षेत्र कटान गरेको छ। पहिरो पनि झरिरहेको छ र पन्छाउने काम भइरहेको छ’, उनले बुधबार नेपालखबरसँग भने, ‘सडक तत्काल खुल्ने अवस्था छैन।’

रसुवागढी पुग्ने सडक अनुगमनमा भौतिकमन्त्री दाहालको टोली

उनका अनुसार मंगलबार रातिको बाढीका कारण कम्तीमा पनि ५ दिन सडक अवरुद्ध हुने देखिएको छ। 

फेरि सडक मर्मत र मितेरी पुल रहेको स्थानमा बेलीब्रिज निर्माण सम्पन्न भएपछि मात्र रसुवागढी–केरुङ जोडिनेछ।

बाढीका कारण सडक अवरुद्ध भएसँगै सयौंका संख्यामा इलेक्ट्रिक कार र मालवहाक सवारी साधन रसुवागढी आसपास क्षेत्रमा अड्किएका थिए। सडक सञ्चालनमा आएसँगै ती वस्तु व्यापारीहरुले काठमाडौं ल्याइसकेका छन्। 

अधिकांश इभी केरुङ नाका हुँदै नेपाल भित्रिने गरेको छ। केरुङ नाका अवरुद्ध हुँदा इभी आयातमा कठिनाई हुने नेपालका वीबाईडीको अधिकारीक विक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ बताउँछिन्। 

‘काठमाडौंबाट छोटो दुरी र सडकको अवस्थाले व्यवसायीको पहिलो रोजाई केरुङ पर्ने गरेको छ। केरुङ बन्द भएसँगै तातोपानी नाकामा चाप बढ्छ। तुलनात्मक रुपमा केरुङको तुलनामा तातोपानीको सडक साँघुरो र खाल्टा खुल्टी धेरै छ। दुई अटो शो र दशैंको सिजन सुरु हुन लागेको छ। यस्तोमा दुई नाकामा आउने समान एउटै नाकाबाट भित्र्याउँदा कठिन हुने श्रेष्ठको भनाइ छ। 

निर्माण तीव्र पार्न मन्त्रीको निर्देशन 
मंगलबारको निरीक्षण भ्रमणका क्रममा भौतिक मन्त्री दाहालले निर्माणाधीन सडकको निर्माण कार्य  तीव्र पार्न निर्देशन दिएका छन्। नदीबाट हुने क्षति समेत नियन्त्रणतर्फ पनि ध्यान दिन उनले आग्रह गरेका छन्। 

यस्तै उनले चीनतर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए। 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनियाँ पक्षसँग समन्वय गरी नेपालीहरु ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए।

मितेरी पुल निर्माणको कार्य चिनियाँ पक्षले छिटो अघि बढाउने सडक विभागका महानिर्देशक बिजय जैसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad