ad ad

कारोबार


असिनापानीले अन्नबाली सखाप, बाटो अवरुद्ध

असिनापानीले अन्नबाली सखाप, बाटो अवरुद्ध

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ९:२५,

म्याग्दीमा गएराति परेको भिषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पु-याएको छ।

जिल्लाको रघुगंगा र मालिका गाउँपालिकाको विभिन्न वडामा परेको असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, लगायत खेतबारीमा रोपेको मकै, सिमी लगायतका तरकारी र सुन्तला जातका फलफूल खेतीमा ठूलो क्षति पु-याएको स्थानीय कृषकले बताएका छन्।

रघुगंगा गाउँपालिकाको वडा नं २ भगवती, वडा नं ३ पिप्ले र वडा नं ४ दग्नाम क्षेत्रमा ठूलो क्षति पु-याएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। अध्यक्ष भण्डारीका अनुसार करिब १ फिटसम्म परेको असिनाले गहुँ, जौँ, मकै, सिमी लगायतका खाद्यन्नबाली र तरकारी खेतीमा समेत ठूलो क्षति पु-याएको छ।

असिनापानीसँगै आएको बाढीका कारण भगवतीको जैसिखोर क्षेत्रमा केही घरहरुमा समेत क्षति पु-याएको छ। अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण संकलनमा जुटेका छन्।

त्यसैगरी मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिनापानीले गहुँ, जौ र सुन्तला खेतीमा क्षति पु-याएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन)ले जानकारी दिए। असिना पानीका कारण रघुगंगा गाउँपालिकाका चारवटा वडाका ग्रामीण सडकसमेत अस्तव्यस्त भएका छन्। सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले वडा नं २ स्थित भगवतीमा केही घर भत्किएको र बाटोसमेत अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए।

‘एकफिटसम्म असिना परेको छ, क्षतिको विवरण संकलन गरी उचित राहतको व्यवस्था गर्छौं’ उनले भने। उनका अनुसार करिब ३० घरधुरीभित्र अन्नबाली प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको छ भने ४ घर बस्न नमिल्ने गरी असर गरेको छ।

रातभर लगातार परेको असिनापानीले वडा नं ३ दग्नाममा समेत ठूलो क्षति भएको वडाध्यक्ष रुक बहादुर गर्बुजाले बताए। उनका अनुसार दग्नाममा गहुँ र जौबाली, आलु र अन्य तरकारी खेती कामै नलाग्ने गरी नष्ट भएको छ। ‘असिनाले बाली उठाउनै नमिल्ने गरी खेतबारीमै सखाप पारेको छ, हेर्न सक्ने अवस्था छैन’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .