हामी लगानीका स्रोतहरूमा सुनिश्चित छैनौँ। १ वर्षअगाडि डेभलपमेन्ट फाइनान्स इन्टिच्युसनको कार्यक्रममा हामीले नेपालमा वैकल्पिक लगानीका माध्यमहरूबाट भएको लगानीको ग्राफ हेरेका थियौँ। जसमा अघिल्लो दुई वर्षमा एकै पटक ३० अर्ब उठाउने भनेर धितोपत्र बोर्डबाट स्वीकृति पाएको भेट्यौँ। जुन कुल विदेशी लगानीको आधा मात्रै हो।
ग्राफ हेरेपछि विदेशबाट आउने आधा लगानी त आन्तरिक लगानीबाट उठ्न सक्ने रहेछ भन्ने लाग्यो। आन्तरिक नीतिहरू सुधार गर्न सके यहीँबाट धेरै लगानी संकलन गर्न सकिन्छ। वैदेशिक लगानीको महत्त्व त छ नै, प्राइभेट इक्विटीमा किन लगानी गर्ने भन्ने प्रश्न पनि रहन्छ।
प्राइभेट इक्विटीमा भने निश्चित समयमा लगानी गरेर लगानी विविधीकरण गर्नसक्ने विज्ञता बढी हुने हुँदा यस किसिमको लगानी अझ धेरै प्रभावकारी हुने देखेरै यसको विश्वव्यापी रुपमा लोकप्रियता बढ्दो छ। त्यसैले यो मोडल विश्वव्यापी रुपमै लोकप्रिय बन्दै गएको छ।

छिमेकी मुलुक बंगलादेश र भारत यही मोडलअनुसार लगानीमा धेरै अगाडी बढिसकेका छन्। नेपाल भने अलि पछाडि नै छ। नेपालमै पनि उत्पादनमूलक र ऊर्जा क्षेत्रहरूमा यस प्रकारको लगानीको सफलता देखिसकेका छौँ। पहिले प्राइभेट इक्विटीबाट लगानी ल्याउन मिल्ने कि नमिल्ने भन्ने संशय पनि थियो। त्यसमा धितोपत्र बोर्डले प्राइभेट इक्विटीको लाइसेन्सको एउटा अवधारणा बनाएको थियो भने वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ (फिट्टा)ले एउटा अवधारणा राखेको छ। तर दुवै ऐन आफैँमा स्पष्ट नहुँदा समस्या थियो।
अहिले भने सेबोन लाइसेन्सप्राप्त इक्विटी फन्डमा विदेशी लगानीकर्ता ल्याउन पाउने व्यवस्था भइसकेको छ। तर यसलाई कसले प्रमाणीकरण गर्ने भन्ने अझै स्पष्ट भएको छैन। त्यसकारण अब छिटै कार्यविधि आइहाले हामी काम गर्न पनि थालिहाल्थ्यौँ। यसमा राम्रो के छ भने नेपाल सरकारले इक्विटी कम्पनीहरूलाई आवश्यक हुनसक्ने आधारमा सुधार (पुस बेस्ड रिफर्म) गरेर भए पनि त्योचाहिँ ल्याएको छ। अहिले परम्परागत लगानी र आधुनिक लगानी दुवै महत्त्वपूर्ण नै छ।
सरकार प्रविधिलाई प्राथमिकता दिएर अगाडि बढ्न खोजिरहेको छ। तर जबसम्म हामीले भेन्चर क्यापिटल र प्राइभेट भेन्चर क्यापिटलमा सहयोगी वातावरण बनाउन सक्दैनौँ, तबसम्म जोखिममूलक कम्पनीमा कसरी लगानी गर्ने भन्ने प्रश्न जन्माइरहन्छ।
१० वटा कम्पनीमा लगानी गर्दा ९ वटा डुब्न सक्छ तर एउटामा गरेको लगानी सफल भयो भने १० वटामा डुबेको लगानी उठ्न र बढी प्रतिफल दिन सक्छ। हामीले प्रविधि कम्पनीहरूलाई अगाडि बढाउन खोज्दै गर्दा त्यसको सँगसँगै सहयोगी वित्तीय साधन दिन सकेनौँ भने त्यो आधा मात्रै हुन्छ।

वैदेशिक लगानीको अवस्था हेर्ने हो भने २०५४ सालमा पुग्नुपर्छ। सो वर्ष कुल २ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको रहेछ। त्यसैगरी २०६४ सालमा पाँच गुणाले बढेर १० अर्ब हाराहारीमा आएको रहेछ र २०७४ सालमा ५.५ गुणाले बढेर ५५ अर्ब आएको रहेछ। भनेपछि २०८४ सालसम्म त २७५ अर्ब हुनुपर्ने होइन र? यो हामी सबैले सोच्नुपर्ने छ।
हुन त कोभिडका कारण पनि यसमा प्रभाव पारेको त छ नै। तर पनि यसमा हामी कमजोर पो देखिएको हो कि! वा हामी सबै संकलनमा सुस्त पो भएको हो कि! सोच्ने बेला भएको छ। अहिले धेरै सुधार गरिएको छ। तर बाटोमै भए पनि हिँडाइ भने सुस्त छ। अब ग्लोबल प्लेटफर्ममा राज्यस्तरको भ्रमण हुँदा सार्वजनिक रुपमै बिजनेस र सरकारको सम्बन्ध राम्रो देखिनुपर्छ। सम्झौता गर्दैगर्दा सँगै यो कुरा देखिनुपर्छ।
भारत र चीनबाहेकका अरु देशका लगानीकर्ताले पहिले भारत र चीनबाट आएको लगानीबारे सोध्छन्। त्यसैले हामीले आइसकेका लगानीकर्तालाई कति खुसी राखेका छौँ भन्नेमा गम्भीर हुन जरुरी छ। आइसकेको १० वटा लगानीकर्तालाई खुसी राख्न सकियो भने थप १० लगानीकर्ता ल्याउन सकिन्छ। हाम्रो धेरै लगानी भनेको ६० अर्ब हो। १० वटा कम्पनीले ६ अर्बका दरले लगानी गरे भने पुगिहाल्छ। यो फेरि त्यति धेरै चुनौतीपूर्ण पनि छैन।
तर ध्यान दिएर गर्न सक्नुपर्छ। लगानीकर्ता माइक्रो लेभलमा डराउने हुँदा हामीले यही तहमै ब्रान्डिङ कसरी राम्रो बनाउने भन्ने सोच्नुपर्छ। २/२ वर्ष कुरेर लगानी सम्मेलन गर्नुभन्दा हरेक दिन ब्रान्डिङ गर्नु फलदायी हुन्छ। नेपालमा लगानी गर भन्दै गर्दा अब हामीले देशहरूसँग मात्रै नभई विभिन्न देशका राज्यहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।
दोस्रो सत्र भिडिओ : ‘विदेशी लगानी, स्वदेशी प्रभाव’
एक जना विदेशी लगानीकर्ताले भन्नुभएको थियो, ‘म करसँग डराउँदिन, तिम्रो सरकारको सरप्राइजसँग डराउँछु।’
सरकारले फ्याट्ट ५ वर्षअघिको कुरामा एउटा ‘सरप्राइज’ भन्छ। यस्तो हुनु भएन। अटोमेटिक रुटबाट एफडीआई आउने भएपछि धेरै समाधान भएको छ। ‘वन स्टप सर्भिस’ (एकल विन्दु सेवा) राम्रो भए पनि भित्र ‘एस’ भन्ने व्यक्तिले बाहिर आएर ‘नो’ भन्नसक्ने अवस्था छ। यसलाई सुधार गर्नुपर्छ।
सकारात्मक सुधारहरू भएका छन्। तर अझै धेरै कुराहरू समाधान गर्न बाँकी नै छ। अघिल्लो वर्ष नेपाली लगानीकर्ताको आत्मबल ५० प्रतिशतले बढ्यो। त्यतिबेला नेपालको रेटिङ डबल बी माइनस आयो। यसले सकारात्मक माहोल सिर्जना गर्यो। यी कुराहरूले लगानीकर्तालाई आकर्षित गर्दै लैजान सकिन्छ
(मनोज पौडेल आद्यन्त फन्ड मेनेजमेन्ट कम्पनीका प्रमुख हुन्। नेपालखबरले बिहीबार (८ साउन २०८२) आयोजना गरेको प्रत्यक्ष वैदेशिक लगानीबारे सत्र ‘विदेशी लगानी, स्वदेशी प्रभाव’मा पौडेलले राखेको विचारको सम्पादित अंश।)
Shares

प्रतिक्रिया