नेपालजस्तो देशमा इ–कमर्स सुरु गर्न र त्यसलाई दिगो बनाउन धेरै ठूलो लगानी आवश्यक पर्छ। स्थानीय लगानी अपुगजस्तै हुन्छ। प्रविधिमा सबैभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ। दराजमा अलिबाबाको उपकरण उपयोग गर्न नपाएको भए केही गाह्रो हुने थियो। यो स्तरमा पुग्न स्वदेशी लगानीले मात्र सम्भव हुने थिएन।
दराज नेपाल सन् २०१२ देखि सुरु भएको हो। तर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने सन् २०१४ मा मात्र भित्रिएको हो। दराजमार्फत २२ मिलियन अमेरिकी डलर एफडीआई भित्रिएको छ। जुन करिब ३ अर्ब रुपैयाँबराबर हुन्छ। तर एफडीआई कति भित्र्यायोभन्दा पनि समग्र मुलुकको अर्थतन्त्रमा कम्पनीले कति योगगदान पुर्याएको छ भन्ने महत्त्वपूर्ण हुन्छ।
दराजमा २२ हजारभन्दा बढी बिक्रेताहरू जोडिएका छन्। यसमा ८५ प्रतिशतभन्दा बढी साना तथा मझौला व्यवसायी छन्। नाफाभन्दा पनि इकमर्स क्षेत्रमा दराजले इकोसिस्टममा पुर्याएको योगदानलाई कम्पनीले ध्यान दिएको छ।

नेपालको अर्थतन्त्रमा शिथिलता आउँदा गत वर्ष अन्य अफलाइन सेगमेन्टको व्यवसाय घटेको थियो। तर दराजले ६० प्रतिशत प्रतिवर्ष वृद्धि हासिल गरिरहेको तथ्यांक छ। गत जुन ६ मा दराजले ६–६ को क्याम्पेन गरेको थियो। उक्त क्याम्पेनअन्तर्गत दराजले एक दिनमै ८ लाख अमेरिकी डलर (नेपाली रूपैयाँमा करिब ११ करोड) को बिक्री गरेको थियो। यसबाट बिक्रेतासहित उपभोक्ताले पनि लाभ प्राप्त गरेका थिए। दराजको बिक्री काठमाडौं उपत्यका र मोफसलमा समान ५०/५० प्रतिशत छ।
दराजले प्रत्यक्ष एक हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ। अर्थतन्त्रमा अप्रत्यक्ष रुपमा पुर्याइरहेको योगदानको कुनै लेखाजोखा छैन। नेपालमा व्यवसायलाई पूर्णरुपमा सहयोग मिल्ने किसिमको वातावरण नभए पनि खराब अवस्था भने छैन।

दराजको सम्बन्धमा उपभोक्ताको सबैभन्दा ठूलो गुनासो भनेको एउटा सामान अर्डर गर्दा अर्को सामान आयो भन्ने नै हो। यो साधारण विषय भए पनि कानुनी अड्चनका कारण सफलता प्राप्त हुन सकेको छैन। दराजले रिटेल व्यवसाय गर्न पाउँदैन। यसो हुँदा बिक्रेताले प्याक गरेर ल्याएको सामानमा के छ भनेर हेर्न पनि मिल्दैन। उहाँहरुले जे पठाए पनि हामीले प्याककै अवस्थामा डेलिभरी गर्नुपर्ने हुन्छ।
यी समस्या आउन नदिन कम्पनीले २२ हजार बिक्रेतालाई प्रशिक्षण गरिरहेको छ। दराजलाई पनि रिटेल व्यवसाय गर्न दिनुपर्छ। हामीलाई शतप्रतिशत रिटेल दिनुपर्दैन। कम्तीमा ५० प्रतिशत व्यवसाय रिटेल गर्न दिनुपर्छ। यस्तो हुँदा गुणस्तरमा केन्द्रित हुन पाउँछौँ। रिटेल गरेर दराजले नाफा कमाउन खोजेको हैन तर अहिले यस किसिमको भाष्य सिर्जना गरिएको छ।
दोस्रो सत्र भिडिओ : ‘विदेशी लगानी, स्वदेशी प्रभाव’
दराजले ५ वटा देशमा रिटेल व्यवसाय गरे पनि नाफा कमाउन सकेको छैन। उपभोक्ताको अनुभवलाई सुधार गर्न रिटेल व्यवसाय गर्न खोजेका हौँ। हामीलाई पनि यस्तो झन्झट चाहिएको छैन तर उपभोक्ताको हितका लागि हामीले माग गरेका हौँ।
दराजको अर्को समस्या बिलिङ हो। एफडीआई कम्पनीलाई पेमेन्ट लाइसेन्सको व्यवस्था छैन। त्यो गर्न सकिए कम्पनीले सामान खरिद गरेपछि मात्र भुक्तानी गर्न सकिने व्यवस्था सहज रुपमा अपनाउन सकिन्छ। यस्तै उपभोक्ताको अर्को गुनासो भनेको डेलिभरी ढिला हुन्छ भन्ने छ। लजिस्टिक र सडकका कारण डेलिभरी ढिला हुन्छ। सुरक्षाका दृष्टिकोणले कल गरेर हातमै डेलिभरी दिनुपर्ने बाध्यता छ। यस्ता समस्या समाधान गर्न थप केही समय लाग्ने देखिन्छ।
(आँचल कुँवर इकमर्स कम्पनी दराज नेपालकी प्रबन्धनिर्देशक हुन्। नेपालखबरले बिहीबार (८ साउन २०८२) आयोजना गरेको प्रत्यक्ष वैदेशिक लगानीबारे सत्रमा कुँवरले राखेको विचारको सम्पादित अंश। ‘विदेशी लगानी, स्वदेशी प्रभाव’ शीर्षकको यस सत्रमा कुँवरका साथै नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) का उपाध्यक्ष रवि कुमार रायवरम, आध्यन्त फन्डका अध्यक्ष मनोज पौडेल र उद्योग मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले छलफल गरेका थिए। सत्रको सञ्चालन सीए शेषमणि दाहालले गरेका थिए।)
Shares

प्रतिक्रिया