कारोबार


पूर्वकै पहिलो पाँचतारे होटल मेची क्राउनकी अश्लेषा कार्की: कोभिडपछि सोच र सम्भावनाको नयाँ ढोका उघ्रियो

पूर्वकै पहिलो पाँचतारे होटल मेची क्राउनकी अश्लेषा कार्की: कोभिडपछि सोच र सम्भावनाको नयाँ ढोका उघ्रियो

अश्लेषा कार्की होटल मेची क्राउनकी उपप्रबन्धनिर्देशक हुन्


अश्लेषा कार्की
साउन १२, २०८२ सोमबार ७:२८, काठमाडौँ

कोरोना संक्रमणको महामारीपछि सबैभन्दा आक्रान्त बनेको क्षेत्र सेवा तथा पर्यटन क्षेत्र हो। तर यसले आक्रान्त मात्र बनाएन, अवसर पनि दियो।

घरभित्र थुनिएपछि मानिसहरूमा मानसिक स्वास्थ्य र आफ्नो जीवनको बुझाइप्रति विश्वव्यापी रुपमै केही परिवर्तन देखियो। जीवन जागिर र भविष्यलगायतको दौडधूप मात्रै होइन रहेछ भन्ने मान्यताले प्राथमिकता पायो। 

कोभिडपछि विश्वमा देखिएको यो एक प्रकारको ‘मुभमेन्ट’ नै थियो। यही कारण धेरैले घुमफिरमा ध्यान दिए। यसले विश्वव्यापी रूपमा पर्यटन र यात्रा गर्ने मानिसको संख्या बढाउन पुग्यो। नेपालमा पनि पर्यटनसँगै यस क्षेत्रमा लगानी गर्नेहरू पनि कोभिडपछि बढेको तथ्यांक छ।

नेपालको प्राकृतिक सौन्दर्य छँदै छ। त्यसमाथि यस क्षेत्रमा लगानीप्रतिको आकर्षण बढेको देखेर हामी आफैँले पनि झापामा पर्यटन क्षेत्रलाई अगाडि बढाउन पूर्वको पहिलो पाँचतारे होटल मेची क्राउन खोल्यौँ। हामीजसरी अरुले पनि सोच्ने भइहाले। त्यसरी नै अरु उद्यमीहरूले पनि लगानी बढाउन थाले। आजको दिनमा वार्षिक १८ प्रतिशतका दरले यस क्षेत्रमा लगानी बढिरहेको छ। पर्यटन क्षेत्रका लागि यो निकै ठूलो अवसर हो।

आर्थिक वर्ष २०२३/०२४ को रिपोर्टअनुसार यस क्षेत्रमा ५ खर्ब ४३ अर्बको लगानी छ। यसलाई दोब्बर बनाउन सरकारले व्यवसाय गर्ने प्रक्रियालाई सहजीकरण गर्नुपर्नेछ। रजिस्ट्रेसनदेखि व्यवसाय सञ्चालनसम्ममा सरकारले डिजिटलाइज्ड सेवा दिन सकेको छैन। यसले प्रक्रियालाई झन्झटिलो बनाएको छ।

अवसर समाउनका लागि पनि मनोबल बलियो हुन जरुरी छ। तर पनि अझै निराशा त छँदै छ। नीतिगत अस्थिरता र प्रक्रियागत झन्झटले अहिले व्यवसायीको मनोबल कमजोर बनाएको हो। हामी पर्यटक धेरै आए भन्ने मात्रै कुरा गछौँ। त्यही पर्यटकमै एनआरएन र ब्याकप्याकरको पनि गन्ती हुन्छ। लक्जरियस पर्यटक कति आए भन्ने गन्ती नै छैन।

पहिलो सत्र: घरेलु पुँजी र समृद्धि

होटलहरुमा कतिको क्षमता छ भनेर हेर्ने हो भने आजको दिनमा पनि क्षमता कम नै छ। अहिले धमाधम विदेशी चेन होटलहरू आइरहेका छन्, यो सकारात्मक पक्ष हो। तर यसका लागि सरकारले सहयोग गर्नुपर्छ। काठमाडौं मात्रै नभएर दुर्गम पर्यटकीय क्षेत्रमा यस्ता होटलहरू पुर्‍याउन पूर्वाधार विकासमा लगानी गर्नुपर्छ।

त्यस्ता क्षेत्रमा जोखिम मोलेरै जान खोज्ने व्यवसायी तथा लगानीकर्तालाई वित्तीय सहयोग गरिदिने, राजस्वमा सहुलियत दिने लगायतका काम गर्नुपर्छ। लगानीकर्ताले जोखिम मोलेर काठमाडौंबाहिर व्यवसाय गर्न चाहन्छ भने सरकारले त्यस्ता व्यवसायीको अभिभावक भएर सहुलियत दिनुपर्छ। ता कि भोलि गएर केही भयो भने व्यवसायीले मलाई सरकार र बैंक दुवैले सहयोग गर्छ भन्नेमा विश्वस्त हुन सकून्!

आजको दिनमा हामीसँग प्राकृतिक मात्र नभएर एडभेन्चर, स्प्रिचुअल, लक्जरियसलगायतका विविध पर्यटकहरू छन्। न्युयोर्क टाइम्सले घुम्नैपर्ने ठाउँ भनेर हाम्रा क्षेत्रहरूलाई समेटेको छ। यसको फाइदा उठाउन पनि सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतासहित अभिभावकत्व ग्रहण गर्न पनि जरुरी छ। 

(अश्लेषा कार्की पर्यटन उद्यमी हुन्। उनी होटल मेची क्राउनकी उपप्रबन्धनिर्देशक छिन्। नेपालखबरबाट आयोजित राइजिङ नेपाल समिटको घरेलु पुँजीबारेको प्यानल डिस्कसनमा कार्कीले राखेको विचारको सम्पादित अंश। ‘घरेलु पुँजी, घरेलु विकास’ शीर्षकको यस सत्रमा कार्कीका साथै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली सहभागी थिए। नेपालखबरका कन्सल्टिङ एडिटर कुबेर चालिसेले यस सत्र सञ्चालन गरेका थिए।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad