कारोबार


सिनो भएका कम्पनीको सेयर बोकेर कमाउने र रमाउने मूर्खता नगरौँ (विचार)

सिनो भएका कम्पनीको सेयर बोकेर कमाउने र रमाउने मूर्खता नगरौँ (विचार)

अचुतकुमार ओझा
साउन ७, २०८२ बुधबार १६:३९, काठमाडौँ

अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो।’

यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मूर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो। यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ। पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो भएर देखाउने थुप्रै दुस्साहस हुने गर्छ तर त्यो दिगो हुन सक्दैन। केही मिनेट, घण्टा, दिन वा महिना सही देखिए तापनि अन्ततः दीर्घकालमा त्यो गलत सावित हुनेछ। 

‘डेड हर्ष थ्यौरी’मा घोडा सवार व्यक्ति जित्न चाहन्छ। ऊ घोडा दौडमा पहिलो भएर उत्कृष्ट हुने अभिलाषा बोकेर हिँडेको हुन्छ। यसैले आफूसँग भएको धन दौलत सबै घोडामाथि खर्चिएर भए पनि आफ्ना प्रतिस्पर्धीलाई माथ खुवाउने यात्रामा लागी रहन्छ तर परिणाम त्यसो हुन सक्दैन। बरु आफ्नै सम्पत्ति गुम्न पुग्छ। ठीक यस्तै पुँजी बजारमा पनि हुने गरेको देखिन्छ। आफूले कुनै कम्पनीको सेयर किनेपछि जसरी पनि बजार मूल्य बढाउन खेल खेल्ने गर्छन्। चाहे त्यो आर्थिक हिसाबले कमजोर होस् वा नियामकबाट कारबाही खेपिरहेको होस्। चाहे प्रतिफल क्षमता शून्य होस् वा ऋणमा डुबेको होस् जुन अवस्थामा रहेता पनि आफूले उठाएपछि त्यो एकैपटक लसुनबाट सुन हुनुपर्ने मूर्खता जब ठूला वा साना लगानीकर्ता जो कसैले पनि गर्न सक्छ, त्यस्तो मूर्खताले दिगो सफलता भेट्न सकिँदैन। यही वास्तविकतालाई बुझ्न नसक्दा धेरै लगानीकर्ताले लगानी डुबाइरहेको देखिन्छ।

सन् १९९८ ताका विश्वको पुँजी बजारमा सूचीकृत कम्पनीको पछाडि डट् कम लेखिएको छ भने मूल्य आकासिन्थ्यो तर सन् २००२ तिर जब ‘डट् कम बबल’ फुट्यो, राष्ट्रिय प्रतिभूति व्यापारी सङ्घको स्वचालित मूल्य सूची प्रणाली (न्यासड्याक–अमेरिका स्थित एक प्रमुख इलेक्ट्रोनिक सेयर बजार, यो संसारकै प्रथम कम्प्युटर प्रणालीमा आधारित सेयर बजार हो) को सूचाङ्क ५० प्रतिशतभन्दा बढीले घट्यो र पेटस् डट् कम र वेबभ्यान जस्ता धेरै कम्पनीहरु पूर्ण रुपमा बन्द भए। त्यसमा लगानी गरेर कमाउँछु भन्ने धेरैले आत्महत्याको बाटोसमेत रोजे। सन् २००२ देखि २००६ सम्ममा ‘रियल स्टेट बबल’ आयो त्योभन्दा अगाडि रियल स्टेटको मूल्य कहिले नघट्ने विश्वास गरेर लगानी गर्ने थुप्रै व्यक्तिहरु मूर्ख सावित भए। सन् २००८ मा बबल फुटेपछि विश्वमा वित्तीय मन्दी आयो। यसले थुप्रै लगानीकर्तालाई बगाइदियो। धेरै व्यक्तिहरु महलबाट सडकमा आइपुगे। 

नेपालमा हेर्ने हो भने ३२०० विन्दु र १८०० विन्दुको बुलमा बजार उक्लदै गर्दा खराब कर्जा ३०/४० प्रतिशत भएका र जीवनभर प्रतिफल नदिएका कम्पनीहरुको मूल्य रु एक हजारमाथि पुग्यो तर जब बजार बियरीस हुन थाल्यो, उक्त स्टकमा भरिएको बलुनको हावा फुस्कियो तब सात/आठ सय प्रतिशतको गिरावट देखियो। केही समय अगाडि केही फाइनान्स कम्पनी २४००/२६०० सयसम्म भाउ बढेर पुगे तर जब बजार हल्लिन थाल्यो। जतिबेला फाइनान्समा भएका विकृतिका विषय समाचार बनेर बजारमा आयो, त्यस्ता कम्पनीको मूल्य एक वर्षको उतावचढावमा ८०० प्रतिशतसम्म झर्‍यो। तर मान्छेहरु ती कम्पनीलाई बजारको विजेता बनाउने दौडमा लागी परे। आफ्ना सारा स्रोत लगानी गरे। तर रुपकको घोडा जस्तै मृतश्ययामा पुगेका कम्पनीको भाउ छोटो समयका लागि आकासिएको देखिएता पनि उम्लिएको दूधजस्तै पहिलेकै अवस्थामा फर्किन पर्‍यो। यसले गर्दा अरबौको लगानी व्यर्थ भएको छ। 

लगानीमा मूर्खताले होइन, धैर्यता र अनुशासनले बाजी मार्न सकिन्छ। मूर्खताले जित्न सकिँदैन, बरु गुुमाउन प्रेरित गर्नेछ। तसर्थ सिनो भएका कम्पनीको सेयर बोकेर कमाउने र रमाउने मूर्ख नबनाँै। जित्नका लागि दौडन सक्ने घोडाको सधैँ खोजी गरौँ र त्यसैमा लगानी गर्ने बानी बसालौँ। यो नै लगानीको मूलमन्त्र हो। ‘डेड हर्ष थ्यौरी’ ले लगानीकर्तालाई दिएको मूल सन्देश यही हो।

जहाँ सम्भावना शून्य भागभन्दा कम छ त्यहाँ प्रयास नगर्नुहोस् चाहे त्यो लगानीको क्षेत्र होस् वा जीवनका अन्य पक्ष त्यो व्यर्थ हुनेछ। जसरी मृत घोडामाथिको लगानी खेर गयो त्यसरी नै खराब सेयर माथिको लगानी बालुवामा पानी खन्याएसरह हुने निश्चित छ। कतिपय कम्पनीहरु वासलत बिग्रिएका, सञ्चालक खराब भएका, खराब कर्जाले थिचिएका, प्रतिसेयर आम्दानी र मुनाफा नकारात्मक भएका, आयले खर्च धान्न नसकेका, बजार क्षेत्र खुम्चदै गएका, प्रतिस्पर्धीको अगाडि निरीह रहेका, प्रतिफल कम्पनी खुलेदेखि दिन नसकेका, प्रविधिको विकासले माग घट्दै गएका कम्पनीको सेयरमा बजार हल्ला, कर्नरिङ्ग, म्याचिङ्ग, मिडिया ट्यापिङ र सामाजिक सञ्जालमार्फत बुलिङ आदि गरेर मूल्य बढाउने प्रयासमा लागेका हुन्छन्। त्यस्तो कम्पनीको बारेमा राम्ररी बुझ्न जरुरी हुन्छ। आफूलाई त्यस कम्पनीको यस्ता गलत प्रवृत्तिका बारेमा जानकारी छ भने त्यस्ता कम्पनीमा थप लगानी बढाउनुहुँदैन। 

कहिलेकाहीँ ‘फाइनान्स आर्मी’ को नाममा त्यस्ता कम्पनीको सेयर मूल्य अस्वभाविक बढाएर लैजाने गरिन्छ, जुन नेपालमा भयो। तर समयसँग त्यो उसको वास्तविक आकार र स्वरुपमा फर्किनु नै पर्ने हुन्छ। टुप्पामा लगानी गर्नेहरुले कहिल्यै आफ्नो सम्पत्ति पाउन सक्ने छैनन्। यसैले यस्तो दुस्साहस नगर्नु नै वेश हुन्छ।  कतिसम्म भयो भने नेपाल राष्ट्र बैंकले कारबाही गर्दै गरेको कर्णाली विकास बैंकको सेयरको मूल्य कारबाही भएर कारोबार रोकिन भन्दा अघिलो दिन १० प्रतिशतको सर्किट लाग्यो। यस्तो कम्पनीमा सेयर मूल्य बढेको देखेर लगानी बढाउने नगर्नुहोस्। किनकी यसले उल्टो तपाईको खल्तीको धन सोसेर लैजाने सम्भावना बढी हुन्छ। हो, बजारमा केही हर्ष मेहताहरु हुने गर्छन्। जसले यति धेरै जोखिम उठाउँछन्, बजार मूल्य बढाउन बलुनमा यति धेरै हावा भर्छन् जुन नफुटुनजेल भरी रहन्छन्। कल्पना गर्नुहोस्, तपाईले लगानी गर्दै गरेको बेलुन त्यही पर्‍यो भने के हुन्छ ? पक्का छ, बलुन फुट्यो भने बलुनसँगै तपाईको लगानी पनि फुट्नेछ, कहिले फर्कने छैन। यसैले तपाई हर्ष मेहता नबन्नुहोस्, यसरी फुलाइएका स्टकहरु थाहा पाउनुभयो भने छिटो निस्कनुहोस्, थप लगानी थप्ने नगर्नुहोस्। नत्र घोडा सवारले मृत घोडामाथि सारा स्रोत रित्ताएर लगानी गरेजस्तै सेयर बजारमा लगानी गर्ने हामीहरु पनि पछुताएर हिँड्नुबाहेक बाँकी केही रहनेछैन। 

तसर्थ, जे कुरा चल्दैन, त्यसलाई छोड्नु बुद्धिमानी हो, किन भने मरेको घोडा दौडिदैन। पुँजी बजारमा पनि लगानीकर्तामा देखिने लोभका कारण नै उनीहरु ठगिन पुग्छन्। कमाउने सपना लिएर बजार आएकाहरु आफ्नै सम्पति बचाउन नसकेर गुमाउन पुगेका थुप्रै उदाहरणहरु छन्। यसैले मृत घोडाबाट गरिएको आशा र कमजोर वित्तीय स्वास्थ्य र कुशासन भएको कम्पनीको सेयरमा लगानी गर्नु भनेको कहिले पूरा नहुने अधुरो लगानी हो भनेर बुझ्न सक्नुपर्छ। शून्य सम्भावनामा लगानी गरेर जोखिम लिने नगरौँ, चाहे त्यो मृत घोडा होस् वा प्रतिफल शून्य कम्पनीको सेयर, दुवै उस्तै हुन्। सधैँ सजग भएर लगानी गर्ने गरौंँ। सेयर बजारले मुनाफामा हिँड्न मार्गप्रशस्त गरेको छ। मात्रै सही मार्ग पहिल्याउन सक्नुपर्छ।

(लेखक पुँजी बजारका जानकार हुन्, राससबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad