कारोबार


फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

फाइल तस्बिर


रासस
साउन ६, २०८२ मंगलबार १८:१०, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा आज आयोजित एनटीसी र एनटीएको २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन्। 

आफू मन्त्री भएलगत्तै पटक–पटक फाइभ–जी नेटर्वक सुरू गर्न भन्दै आएको स्मरण गराउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफूले निर्देशन दिएको एक वर्ष पुगिसक्दा पनि कार्यसम्पादन नहुनु दुःखद् विषय भएको बताए। 

उनले अब भने चाँडोभन्दा चाँडो नेटर्वक विस्तारमा गर्नुपर्ने बताए। छलफलका क्रममा मन्त्री गुरुङले नेपाल टेलिकम सैद्धान्तिक रूपले मात्रै जिल्लाभर पुग्नु प्रयाप्त नरहेको स्पष्ट पारे। उनले फोर–जी नेटर्वक हरेक जनताका घरघरमा पुर्‍याउने काम प्राथमिकतामा राख्नुपर्ने बताए।

साथै, इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्क उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने र डिजिटल सुशासन कायम गर्न चुनौती देखापर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न मन्त्री गुरुङले आग्रह गरे।

त्यसैगरी उनले राजमार्गमा देखापर्ने नेटवर्क असुविधा कम गर्न पनि एनटीए र एनटीसीलाई ध्यानाकर्षण गराए। जहाँ जनतालाई अत्यन्त नेटर्वकको जरुरी हुन्छ, त्यहाँ सेवा विस्तारमा चनाखो हुन पनि  मन्त्री गुरुङले जोड दिए। 

पर्यटन प्रवर्द्धन गर्न इन्टरनेट र टेलिफोन सुविधाको अत्यन्त जरुरी हुने उल्लेख गर्दै मन्त्री गुरुङले पर्यटकीय गन्तव्यमा नेटवर्क विस्तार प्रभावकारी बनाउन आग्रह गरे।

“जहाँ जनतालाई अति आवश्यकपर्छ, त्यहाँ एनटिसी पुग्नुपर्छ”, उनले भने, “यो वर्ष फाइभ–जी लन्च छिट्टै गर्नुपर्छ।”

उनले नेपाल टेलिकमको प्रचारप्रसार गतिविधि निकै कम भएको औँल्याउँदै शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा प्रचार गरेर एनटिसीबारे जनतालाई सुसूचित गराउन अनुरोध गरे। 

छलफलमा सञ्चार सचिव राधिका अर्यालले एनटिएले अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने अनुरोध गरिन्। उनले सूचनाप्रविधिको क्षेत्रमा नवीन कार्य गर्दै आएका युवा पुस्तालाई हौसला प्रदान गर्ने खालका कार्य योजनासमेत बनाउन निर्देशन दिइन्।

“सूचना प्रविधिको क्षेत्रमा नविन कार्य गर्ने युवालाई हौसला दिने खालका गतिविधिसमेत समेट्नुपर्छ”, सचिव अर्यालले भनिन्, “यस्ता कार्यक्रम राख्नु समयको मागसँगै राज्यको दायित्व पनि हो ।”

एनटीएका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभ–जी नेटवर्क सञ्चालन गर्नेकार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अब केही समयमै बोलपत्र प्रक्रिया थालनी गरेर नेटर्वक विस्तार गर्ने उनले बताए। एनटीसीका निमित्त प्रबन्ध निर्देशक सविना मास्के(प्रधान)ले पनि फोर–जी विस्तार निरन्तर कार्य भइरहेको र फाइभ–जी लन्च गर्ने तयारीमा जुटेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad