एफवान सफ्ट प्रवर्द्धक रहेको फोन पे सर्भिस लिमिटेको सेयरमा राजेन्द्र खेतान समूह प्रवेश गरेको छ।
कम्पनीले सेयर खरिदका लागि आवेदन माग गरेकोमा खेतान समूहको हाउस अफ राज कम्पनी फोन पेको २० प्रतिशत सेयर किन्न तयार भएको हो।
फोन पे स्रोतका अनुसार कम्पनीले सेयर बिक्री गर्न लगानीकर्ता खोजिरहेको थियो। त्यस क्रममा प्राप्तमध्ये खेतान समूहको आवेदन छनोट भएको छ। कम्पनीको मापण्दड पूरा गरेको खेतान समूहको हाउस अफ राज छनौट भएसँगै यसको प्रारम्भिक सम्झौता भइसकेको छ।
यद्यपि राष्ट्र बैंकबाट स्वीकृति पाउन भने बाँकी छ।
‘स्वीकृति पाएपछि मात्रै सेयर खरिदबिक्री गर्न पाइन्छ। अहिले स्वीकृति कुरिरहेका छौँ’, स्रोतले नेपालखबरसँग भन्यो।
स्रोतका अनुसार खेतान समूहका अध्यक्ष राजेन्द्र खेतानले डेढ करोडमा सेयर खरिदका लागि आवेदन दिएका थिए।
अब राष्ट्र बैंकबाट सेयर खरिदबिक्रीका लागि स्वीकृति पाएपछि मात्रै खेतान समूहले फोनपेको सेयर खरिद गर्न सक्नेछ।
फोन पेमा माउ कम्पनी एफवान सफ्टको शतप्रतिशत (१० लाख कित्ता) सेयर स्वामित्व छ। एफवान सफ्टमा सबैभन्दा धेरै सेयर पूर्वअध्यक्ष तथा संस्थापक विश्वास ढकालको छ भने सम्भव सिरोहियाको र अस्गर अलिको समेत सेयर लगानी छ।
हाल पूर्वबैंकर ससिन जोशी फोन पेको अध्यक्ष र सिद्धान्त ठकुरी र सम्भव सिरोहिया सञ्चालक छन्।
Shares

प्रतिक्रिया