कारोबार


११ महिनापछि सेयरबजारमा बौरिए लगानीकर्ता, गत वर्षकै उचाइबराबर गर्न थाले कारोबार

११ महिनापछि सेयरबजारमा बौरिए लगानीकर्ता, गत वर्षकै उचाइबराबर गर्न थाले कारोबार

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:५२, काठमाडौँ

करिब ११ महिनापछि सेयरबजारमा लगानीकर्ताले कारोबारलाई २० अर्बमाथि पुर्‍याएका छन्।

आइतबार धितोपत्रको दोस्रोबजारमा लगानीकर्ताले २१ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार गरेका हुन्। यो पछिल्लो ११ महिनायताकै धेरै हो। 

गत वर्षको भदौ २ गते नेप्से सूचक ३०४० अंकमा पुग्दै गर्दा लगानीकर्ताले २८ अर्बको कारोबार गरेका थिए। जुन धितोपत्र बजारको इतिहासकै नयाँ रेकर्ड बन्न पुगेको थियो। 

त्यसयता बजारमा लगानीकर्ताले २० अर्बमाथि कारोबार गर्न नसकेकोमा आइतबार २१ अर्बमाथिको कारोबार भएको छ। यो दिन लगानीकर्ताले नेपाल पुनर्बीमा कम्पनीको सेयरमै करिब एक अर्बको कारोबार गरेका छन्। 

चालू आर्थिक वर्षको मौद्रिक नीति सेयर बजारमैत्री आएपछि हौसिएका लगानीकर्ताले साउनयताको तीन कारोबार दिनमै १६३.१७ अंकले सूचक बढाएका थिए। 

आइतबार अधिकतम २९२२.७३ अंकमा पुग्दा लगानीकर्ताले कारोबारलाई ह्वात्तै बढाएका थिए। अन्तिम समयमा सूचकको वृद्धि घटेर ०.३२ अंकले ओर्लिँदा पनि लगानीकर्ताले २१ अर्बमाथिको कारोबार गरे।

आइतबार नेप्से सूचक ०.३२ अंकले बढेर २८७०.९५ अंकमा बन्द भएको छ। 

कारोबार बढे पनि मूल्य घट्ने कम्पनी धेरै 
नेप्से खुल्दाका समय सूचक र कारोबार दुवै बढे पनि अन्त्यतिर सूचकले ओरालो यात्रा समाउँदा आइतबार कमाउनेभन्दा गुमाउने कम्पनीहरुको संख्या बढी देखिएको छ। 

यो दिन कुल कारोबारमा आएका ३१६ मध्ये १४४ वटा सेयरको मूल्य घटेको छ।  १०५ वटाको बढेको छ। 

घट्नेमा समृद्धि फाइनान्स अगाडि छ। आइतबार नै समृद्धि फाइनान्स पोखरा फाइनान्ससँग गाभिने समाचारको प्रभाव बजारमा देखिन पुगेको हो। सेयर स्वाप बराबरीमा रहे पनि लगानीकर्ताले भने त्यसलाई सकारात्मक रुपमा लिन नसक्दा आइतबार सर्वाधिक मूल्य घट्नेमा समृद्धि फाइनान्स अगाडि देखियो। 

यस्तै घट्नेमा दोस्रो स्थामा ७.७५ प्रतिशतसहित १२ प्रतिशतको गुडविल फाइनान्स डिबेन्चर छ। योबाहेक बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहका अधिकांश कम्पनीहरुको मूल्य घटेको हो। 

आज सान्भी इनर्जी र उन्नति सहकार्य लघुवित्त अगाडि छन्। यी दुवै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। सान्भी इनर्जी आजबाट दोस्रो बजारमा कारोबारमा आएको हो।

यस्तै बढ्नेमा ट्रेडटावर लिमिटेड पनि अगाडि छ। आजबाट कारोबार सुरु गरेको यो कम्पनीको सेयरमा पनि ९.९८ प्रतिशतको वृद्धि देखिएको छ। योबाहेक शिवश्री हाइड्रो र विन्दवासिनी हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्न पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad