स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी ३ दिनभित्र देशभरका नदीहरूमा बाढीको उच्च जोखिम रहेको भन्दै सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले साउन ३, ४ र ५ गते देशका विभिन्न भागमा अत्यधिक वर्षा भई नदीहरूको जलस्तर सतर्कता तह पार गर्न सक्ने चेतावनी दिएको छ। त्यसको आधारमा इप्पानले एक विज्ञप्ति जारी गर्दै सबै निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरुलाई पूर्वतयारी गर्न अनुरोध गरेको हो।
इप्पान र मौसम विभागबीचको आपत्कालीन सूचना साझेदारीसम्बन्धी समझदारीअनुसार विभागले समयमै पूर्वसूचना प्रदान गर्दै आएको छ।
साउन ४ गते साँझ बागमती नदीमा बाढी आउन सक्नेछ, जसले काठमाडौँ उपत्यका र तल्लो तटीय क्षेत्र प्रभावित पार्नेछ।
साउन ४ गते साँझदेखि ५ गते दिउँसोसम्म महाकाली नदी र त्यस आसपासका क्षेत्रमा पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिएको छ।
यसपटकको मौसमी प्रणालीले बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही लगायतका जिल्लामा असर पुर्याउनेछ, जसले नारायणी जलाधार क्षेत्रमा प्रभाव पार्नेछ। साथै, राप्ती, बबई र महाकाली क्षेत्रमा पनि प्रभाव देखिनेछ।
इप्पानले विगतका घटनाको स्मरण गराउँदै गत असार २४ गतेको भोटेकोशी बाढीले रसुवा र नुवाकोटका आयोजनामा पुर्याएको ठूलो क्षति जस्ता विपद् दोहोरिन नदिन विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
इप्पानले विशेषतः मानवीय क्षति हुन नदिन जलविद्युत प्रवर्द्धकहरुलाई गम्भीर बन्न आह्वान गर्दै, माथिल्लो तटीय क्षेत्रका आयोजनाहरूले तल्लो क्षेत्रका आयोजना तथा नेपाल विद्युत प्राधिकरणलाई समयमै सूचना दिनुपर्ने आवश्यकता औंल्याएको छ। साथै, गेट बन्द गरी कर्मचारीलाई सुरक्षित स्थानमा जान सघाउन पनि आग्रह गरेको छ।
Shares

प्रतिक्रिया