कारोबार


चालू आर्थिक वर्षमा कुल बजेटको ८०.९१ प्रतिशत खर्च, विकासतर्फ लक्ष्यको आधा मात्र

चालू आर्थिक वर्षमा कुल बजेटको ८०.९१ प्रतिशत खर्च, विकासतर्फ लक्ष्यको आधा मात्र

नेपालखबर
असार २६, २०८२ बिहिबार १२:५६, काठमाडौँ

चालू आर्थिक वर्षमा सरकारले कुल बजेटको ८०.९१ प्रतिशत खर्च गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले चालू आवको कुल बजेट विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेका थिए।

तत्कालीन सरकारले चालू आवको लागि कुल १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट ल्याएको थियो। जसअनुसार चालू आवको बजेट निकासा हुने अन्तिम दिन बुधबारसम्म कुलमध्ये १५ खर्ब ५ अर्ब रुपैयाँ मात्रै खर्च गरेको हो।

बुधबारसम्म सरकारले चालूतर्फ ९ खर्ब ७८ अर्ब अर्थात् ८५.८२ प्रतिशत खर्च गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ कुल विनियोजनको ८८.०५ प्रतिशत खर्च गर्ने संशोधित अनुमान गरे पनि ८५.८२ प्रतिशत मात्रै खर्च भएको छ।

यस्तै पुँजीगततर्फ कुल विनियोजनको ८३.०४ प्रतिशत खर्च गर्ने संशोधित अनुमान गरिएकामा अन्तिम निकासा हुने दिनसम्म कुल ५९.१३ प्रतिशत मात्र खर्च भएको छ। बुधबार एकै दिन सरकारले २१ अर्ब ७३ करोड रुपैयाँ विकास खर्च निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले अपडेट गरेको छ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ कुल विनियोजनको ९७.०६ प्रतिशत खर्च हुने अनुमान गरिए पनि ८६.५६ प्रतिशत मात्रै खर्च भएको हो ।

त्यस्तै चालू आव सकिनु एक साता अघिसम्म सरकारले ११ खर्ब ३१ अर्ब रुपैयाँबराबरको कुल आम्दानी गरेको छ। चालू आवमा १४ खर्ब ७१ अर्ब बराबरको आम्दानी लक्ष्य राखिए पनि बुधबार रातिसम्म ११ अर्ब ३१ करोड कुल आम्दानी गरेको हो।

यसअनुसार राजस्वबाट १० खर्ब ९७ अर्ब, अनुदानबाट २२ अर्ब रुपैयाँ र अन्य स्रोतमार्फत ११ अर्ब रुपैयाँ आम्दानी गरेको हो। 

आम्दानी र खर्चलाई हेर्दा चालू आवमा सरकारको बजेट घाटा ३ खर्ब ७३ अर्ब रुपैयाँ देखिएको छ। कुल आम्दानीभन्दा कुल खर्च ३ खर्ब ७३ अर्ब बढी देखिएको हो। 

योसँगै बुधबार रातिदेखि नै चालू आर्थिक वर्षको सरकारी खाता बन्द भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम एक साताअगावै महालेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक कार्यालयलगायतका सरकारी खाता बन्द गरिने व्यवस्था छ।

राति १२ बजेबाट लागू हुने गरी बजेट स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad