कारोबार


प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, २० अर्बको ऋणपत्र जारी गर्न अर्थको स्वीकृति

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना, २० अर्बको ऋणपत्र जारी गर्न अर्थको स्वीकृति

नेपालखबर
असार २४, २०८२ मंगलबार १८:२२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ। त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।

यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ। प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उनले जानकारी दिए। सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो।

सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढीपहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गरे।

प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि रु १० अर्ब बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उनको भनाइ छ। उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतीलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न रु २० अर्ब बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ।

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको १०० दिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उनले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएका बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad