कारोबार


जीवन बिमा कम्पनीले बिमितलाई दिने भुक्तानी घटाए, ५४ हजारले पाएनन् दाबी रकम

जीवन बिमा कम्पनीले बिमितलाई दिने भुक्तानी घटाए, ५४ हजारले पाएनन् दाबी रकम

नेपालखबर
असार २२, २०८२ आइतबार १३:५४, काठमाडौँ

जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षमा बिमितलाई दिने भुक्तानी घटाएका छन्। कम्पनीहरूले गत वर्षको तुलनामा चालू आवको जेठ मसान्तसम्म दाबी भुक्तानी २.४५ प्रतिशतले घटाएका हुन्।

गत आवको जेठ मसान्तसम्म कम्पनीहरूले २ लाख ६८ हजारवटा दाबी परेकोमा बिमितलाई कुल ५३ अर्ब ९६ करोड बराबरको भुक्तानी दिएका थिए। चालू आवको सोही अवधिमा भने २ लाख ३८ हजार वटा दाबीमा कम्पनीले ५२ अर्ब ६४ करोड रुपैयाँ भुक्तानी गरेका हुन्। 

गत वर्षभन्दा चालू आवको जेठ मसान्तसम्म दाबी कम परेपछि कम्पनीहरूले दिने भुक्तानी पनि यो वर्ष कम देखिएको हो। गत वर्षको तुलनामा चालू आवमा ११.१९ प्रतिशतले कम दाबी परेको थियो। 

दाबी र भुक्तानी दुवै घटेको अवस्थामा जीवन बिमा कम्पनीहरूले दाबी परेर पनि ४७५ वटा बिमितलाई भुक्तानी दिनसकेका छैनन्। 

नेपाल बिमा प्राधिकरणका अनुसार जेठ मसान्तसम्म दाबी गरेका तर नपाएका दाबी संख्या ५४ हजार ४ सय २२ भने सोबापत ४ अर्ब ५७ करोड रुपैयाँ बिमितले पाएका छैनन्। गत वर्ष ३९ हजार २ सय ९८ बिमितले दाबी गरे पनि २ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी पाउनसकेका थिएनन्। 

यो वर्ष पनि भुक्तानी नपाएका बिमितको दाबीबापतको रकम ५९.६१ प्रतिशतले बढेको छ। यो वर्ष ४ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी बिमितले पाउन बाँकी रहेको हो। 

निर्जीवनतर्फ पनि बिमितबाट आउने दाबी ५.३९ प्रतिशतले घटेको छ भने भुक्तानी रकम भने २६.७४ प्रतिशतले बढेको छ। 

गत वर्ष जेठ मसान्तसम्म १ लाख ३४ हजार ५ सय ३४ वटा बिमादाबीबाट कम्पनीहरूले बिमितलाई १६ अर्ब १७ करोड रुपैयाँ भुक्तान गरेका थिए। 

चालू आवको सोही अवधिमा भने १ लाख २७ हजार २८२ वटा दाबी परेकोमा कम्पनीहरूले २० अर्ब ३० करोड रुपैयाँ दाबीउपर बिमितलाई भुक्तानी गरेका हुन्। 

यस्तै यो वर्ष पनि भुक्तानी पाउन नसकेका बिमितहरू ४ प्रतिशतले बढेका छन्। गत वर्ष १ लाख २ हजार २५१ वटा दाबीबापतको २० अर्ब २५ करोड रुपैयाँ बिमितले भुक्तानी पाउन सकेका थिएनन्। 

यो वर्षको सोही अवधिमा  पनि १ लाख ६ हजार ७५७ दाबीबापतको ३० अर्ब ४६ करोड रुपैयाँ बिमितले भुक्तानी पाउन नसकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad